
काठमाडौँ ।नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा निर्वाचन ब्युरो गठन गरी उम्मेदवार छनोट गर्ने जानकारी दिएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा बोल्दै थापाले केन्द्रीय कार्यालयअन्तर्गत बनाइने ब्यूरोबाट उम्मेदवार छनौट गर्ने बताएका हुन् ।
सभापति थापाले अब उम्मेदवार बन्न काँग्रेसको लिडरसिप एकेडेमीबाट कोर्स अनिवार्य लिएको हुनुपर्ने बताउदै अब हुने स्थानीय तहको निर्वाचनमा ७५३ मध्ये १०० पालिकामा मेयर वा अध्यक्ष महिलालाई उम्मेदवार बनाउने आफुले सोचेको बताए । उनले अब काँग्रेसमा आफ्नो मान्छेलाई टिकट दिने र पैसा लिएर टिकट दिने समय सकिएको बताउदै अब निश्चित प्रक्रिया पुरा गर्नेले टिकट पाउने बताए ।
बन्दसत्रलाई सम्बोधन गर्दै थापाले राज्य नागरिकप्रति संवेदनशील र करुणामय हुनुपर्ने बताउदै सुकुम्बासी बस्ती हटाउने क्रममा नागरिकको अवस्था र आवश्यकतालाई बेवास्ता गर्न नहुने र राज्यले नागरिकको दुःख र समस्यालाई समेत बुझ्नुपर्ने बताए ।
नेपालको सांस्कृतिक पहिचान र चाडपर्वसँग राज्य जोडिनुपर्ने धारणा राख्दै थापाले बजार, निजी क्षेत्र र सरकारको भूमिकाबारे पनि राजनीतिक प्रतिवेदनमा चर्चा गरिएको जानकारी दिए ।
बन्दसत्रमा थापाको राजनीतिक प्रतिवेदनसँगै महामन्त्री प्रदीप पौडेलको विधान तथा पार्टी सञ्चालनसम्बन्धी प्रस्ताव र उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रस्तावमाथि छलफल भइरहेको छ ।




