
काठमाडौँ ।आजदेखि सुरु हुने १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ ।
महाधिवेशनका लागि देशभर र जनसम्पर्क समितिमार्फत सात हजारभन्दा बढी प्रतिनिधिले भाग लिँदै छन् ।
खुलामञ्चमा महाधिवेशनको उद्घाटन हुँदै छ । महाधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुन पूर्वसभापति शेरबहादुर देउवालाई औपचारिक रूपमा निमन्त्रणा गरिएको कांग्रेसले जानकारी दिएको छ ।
कांग्रेसको महाधिवेशन उद्घाटनमा अन्य राजनीतिक दलका शीर्ष नेताहरू पनि सहभागी हुने भएका छन् ।
आजदेखि काठमाडौँमा सुरु हुन लागेको नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनमा भाग लिन आएका प्रतिनिधिको सवारीसाधनलाई विभिन्न स्थानमा पार्किङको व्यवस्था गरिएको छ ।
कांग्रेस केन्द्रीय सदस्य एवं महाधिवेशन यातायात व्यवस्थापन समितिका संयोजक विजयबहादुर स्वाँरले महाधिवेशनमा भाग लिन खुलामञ्चमा आउने प्रतिनिधिका लागि ट्राफिक प्रहरीको समन्वयमा विभिन्न स्थानमा पार्किङको व्यवस्था मिलाइएको जानकारी दिए ।
संयोजक स्वाँरका अनुसार, धरहराको अन्डरग्राउन्ड, माइतीघरदेखि भद्रकालीसम्मको वान वे सडकको एकतर्फी, दरबारमार्गस्थित अन्नपूर्ण होटल परिसरमा पार्किङको व्यवस्थापन गरिएको हो ।
यस्तै, पुरानो बसपार्क आसपास र भृकुटीमण्डपभित्र पनि केही सवारीसाधन पार्किङ गर्नेगरी ट्राफिक प्रहरीसँग समन्वय भइरहेको उनको भनाइ छ ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन यही असोज २२ गतेसम्म चल्नेछ ।

