
काठमाडौं । नेकपा एमालेका सचेतक ऐन महरले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सरकारले विना कसुर र विना अभियोग पक्राउ गरेको भन्दै आपत्ति जनाएको छ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले लोकतन्त्रमा कोही पनि कानुनभन्दा माथि नहुने बताए। कसैले कानुन उल्लङ्घन गरेको भए तथ्य र प्रमाणका आधारमा अभियोग लगाएर कानूनी दायरामा ल्याउनुपर्ने कुरामा उनले जोड दिए ।
उनले भने, ‘सरकारले पूर्वाग्रह, प्रतिशोध तथा विरोध गरेका आधारमा व्यक्तिहरूलाई तर्साउने, धम्काउने र पक्राउ गर्ने काम गरिरहेको छ। यस्तो कार्य कानुनी राज्य र विधिको शासनको बर्खिलाप छ।’
सरकार गठन भएयता शृङ्खलाबद्ध रूपमा यस्ता गतिविधि भइरहेको आरोप लगाए। पूर्वप्रधानमन्त्री केपी ओली र एमाले उपाध्यक्ष विष्णु पौडेललाई पक्राउ गरेको घटनाको स्मरण गरे।
उनले खतरा दिने व्यक्तिलाई सुरक्षा दिने तर खतरा रहेको भनिएका पूर्वप्रधानन्यायाधीशलाई पक्राउ गर्ने सरकारी कदमप्रति आपत्ति जनाए। जबराको पक्राउको कदमलाई लिएर सरकार राज्य आतङ्क, गुन्डागर्दी तथा निरङ्कुशता र स्वेच्छाचारिताको नमुना देखिएको बताए।
उनले यस्ता कार्यको भत्र्सना समेत गरेका छन् ।





