
काठमाडौँ। साहित्यिक क्रियाकलापमा सक्रिय भूगोल साहित्य समाजको वार्षिकोत्सव तथा सातौँ साधारणसभा सम्पन्न भएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण सिंगो मुलुक शोकमा रहेको अवस्थामा वार्षिकोत्सव कार्यक्रम बिनाकुनै विशेष कार्यक्रम अनौपचारिक रूपमा आयोजन गरेको छ ।
समाजले बितेको चार वर्षदेखि वार्षिकोत्सवको अवसरमा पारेर प्रदान गर्दै आएको ‘झगु–लक्ष्मी आचार्य भूगोल साहित्य पुरस्कार’ यसपटक कसैलाई प्रदान गरिएन । उक्त पुरस्कार साहित्यकारहरू देवीचन्द्र श्रेष्ठ, रामबहादुर पहाडी, हिरण्यकुमारी पाठक र सृजन लम्साललाई प्रदान गरिएको थियो । उक्त पुरस्कार आउँदो वर्ष दुई वर्षका लागि एक साथ प्रदान गरिने समाजले जानकारी दियो ।
कार्यक्रममा साहित्यकार रामबहादुर पहाडीले समाजले प्रभावकारी कामहरू गर्दै जानुपर्नेमा जोड दिए । उक्त अवसरमा सुशील श्रेष्ठ, उद्धव खनाल, नवराज भट्ट, महेशराज खरेल तथा नरराज आचार्यले आफ्ना धारणा राखे । कार्यक्रममा समाजका नयाँ सदस्यहरूलाई आजीवन सदस्यताको प्रमाणपत्र प्रदान गरियो ।
साधारण सभाले आगामी कार्यकालका लागि साहित्यकार विनोद नेपालको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति गठन गरेको छ । सभाले उपाध्यक्षमा दिनेशविक्रम थापा, सचिव शैलेन्द्रकुमार शाह, कोषाध्यक्ष हरिश्चन्द्र गौतम र सदस्यहरूमा ओमप्रकाश आचार्य, मुकुन्द अर्याल, गीता निरौला भण्डारी, कालीचरण बस्नेत र नरराज आचार्यलाई चयन गरेको छ ।





