
काठमाडौँ ।साउदी अरबले यमनका हुथी विद्रोहीहरूले राजधानी रियादलाई ब्यालिस्टिक मिसाइलबाट निशाना बनाउने प्रयास गरेको पुष्टि गरेको छ ।
शनिबार अबेर राति साउदी नेतृत्वको गठबन्धनले मिसाइललाई आक्रमणकै क्रममा नष्ट (इन्टरसेप्ट) गरिएको जनाएको हो ।
हुथीले रियादलाई निशाना बनाएर गरिएको यो पहिलो आक्रमणको प्रयास भएको बताइएको छ ।
साउदी नेतृत्वको गठबन्धनले हुथीहरूले लाल सागरको बन्दरगाह सहर यान्बुका साथै ताइफ, बायस र फरासानमा नागरिक पूर्वाधारलाई निशाना बनाउने प्रयास गरेको पनि जनाएको छ । गठबन्धनका अनुसार, ती सबै आक्रमणका प्रयास विफल पारिएका थिए । यद्यपि, वक्तव्यमा यी घटनाबारे थप विवरण दिइएको छैन ।
यसअघि हुथीहरूले रियादका केही ‘संवेदनशील स्थल’ तथा यान्बुस्थित साउदी तेल कम्पनी ‘अरामको’लाई निशाना बनाएको दाबी गरेका थिए ।


