
जुम्ला । कर्णाली करिडोरअन्तर्गत सर्केगाड गाउँपालिका–२, रिपनजिकैको छारेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
शनिबार पहिरोसँगै ठूला ढुंगा खसेपछि करिब १०० मिटर सडक अवरुद्ध हुँदा करिडोरमा सवारी आवागमन ठप्प भएको हो ।
पहिरोका कारण करिडोर हुँदै आवतजावत गर्ने यात्रु तथा सवारीसाधन बीच बाटोमै रोकिएका छन्, सडकमा ठूलाठूला ढुंगा खसेकाले तत्काल सडक खुलाउन कठिन भएको छ ।
जिल्ला सदरमुकाम सिमकोटमा आइतबार सञ्चालन हुने स्वास्थ्य शिविरमा सहभागी हुन अदानचुली गाउँपालिकाबाट आएका २७ जनाभन्दा बढी नागरिकसमेत बाटोमै अलपत्र परेको अदानचुली गाउँपालिका–२ का कमल बुढाले बताए ।
प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले सडक खुलाउन पहल भइरहेको बताए । उनका अनुसार सडकमा ठूला ढुंगा खसेकाले सामान्य उपकरणबाट मात्रै सडक खुलाउन सम्भव छैन । सडक खुलाउने विषयमा सडक विभागका प्रतिनिधि, अदानचुली गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहसहित उपलब्ध गाउँपालिका अध्यक्ष तथा सुरक्षा निकायका प्रमुखसँग छलफल गरी आइतबार बिहानैदेखि सडक खुलाउने काम सुरु गर्ने तयारी गरिएको उनले बताए ।
र्गम क्षेत्रमा आवश्यक साधनस्रोत तत्काल उपलब्ध गराउन कठिन हुने भएकाले सडक खुलाउन केही समय लाग्ने प्रमुख जिल्ला अधिकारी गुरागाईंले बताए । उनका अनुसार आइतबार बिहानदेखि निरन्तर काम अघि बढाएर सम्भावतः पर्सि दिउँसोसम्म कर्णाली करिडोर सञ्चालनमा ल्याउने लक्ष्य छ ।
करिब १०० मिटर सडक क्षेत्रमा ठूला ढुंगा थुप्रिएकाले फुटाउनुपर्ने अवस्था छ ।
