
काठमाडौँ । नेपाली कांग्रेसको उपसभापतिमा चन्द्रकान्त भण्डारी, मधु आचार्य र विनोदकुमार चौधरी निर्वाचित भएका छन् ।
कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनबाट उपसभापतिमा भण्डारी, आचार्य र चौधरी निर्वाचित भएका हुन् । भण्डारी र आचार्य खुलातर्फ तथा चौधरी समावेशीतर्फ विजयी भएका हुन् ।
उपसभापति खुलातर्फको मतगणनामा भण्डारीले तीन हजार ७३५ मत प्राप्त गर्दै विजयी भएका हुन् । त्यस्तै, आचार्यले दुई हजार ३४२ मत प्राप्त गरेका छन् ।
अन्य उमेदवारमध्ये गोविन्द भट्टराईले एक हजार ७५२, सुरेन्द्रराज पाण्डेले एक हजार ६७३, धनराज गुरुङले एक हजार ५९६, दीपक गिरीले ९२३ र प्रा.डा. चन्द्रमोहन यादवले ७६० मत प्राप्त गरेका छन् ।
उपसभापति समावेशीतर्फ विजयी चौधरीले एक हजार ७४५ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी जीवन परियारले एक हजार ६५८ मत प्राप्त गरेका छन् । फरमुल्लाह मंसुरले एक हजार १४४, सीता गुरुङले एक हजार ११२ र रञ्जित कर्णले ५६२ मत प्राप्त गरेका छन् ।


