
काठमाडौँ ।अमेरिकी सेन्ट्रल कमान्डले इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरेको छ । सेन्ट्रल कमान्डले ओमानको खाडी र खार्ग टापुनजिकै इरानका पाँचवटा कच्चा तेल बोकेका ट्यांकरमाथि हमला गरी ध्वस्त पारेको दाबी गरेको हो ।
पछिल्लो दुई दिनमा इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)ले अमेरिकी नौसेनाका युद्धपोतमाथि दुईपटक ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेपछि त्यसको जवाफमा उक्त कारबाही गरिएको सेन्टकमले जनाएको छ ।
सेन्टकमका अनुसार ती ट्यांकरहरू आईआरजीसी तथा उसका क्षेत्रीय सहयोगी समूहलाई आर्थिक सहयोग पुर्याउने अर्बौं डलरको ‘छद्म सञ्जाल’को हिस्सा थिए । सेन्टकमले इरानसँग यी जलपोतको रक्षा गर्ने क्षमता नरहेको दाबी समेत गरेको छ ।
यसअघि सेप्टेम्बर ५ मा पनि आईआरजीसीले अमेरिकी विमानवाहक युद्धपोत र निर्देशित क्षेप्यास्त्र प्रहार गर्ने डिस्ट्रोयरमाथि असफल आक्रमण गरेको दाबी गर्दै सेन्टकमले त्यसको जवाफमा तीनवटा इरानी तेल ट्यांकर ध्वस्त पारेको जनाएको थियो ।
उता, इरानले भने आक्रमणमा हालसम्म कुनै मानवीय क्षति नभएको जनाएको छ । आईआरजीसीले भने कम्तीमा दुईवटा ट्यांकरमा क्षति पुगेको स्वीकार गरेको बताइएको छ ।
इरानले अमेरिकी कारबाहीको कडा बदला लिने प्रतिबद्धता जनाउँदै छिमेकी मुलुकमा रहेका अमेरिकी सैन्य आधारलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ ।
यसैबीच, इरानले कुवेत र बहराइनको तटीय क्षेत्रमा रहेका तेल ट्यांकरका चालक दलका सदस्यलाई सम्भावित सैन्य कारबाहीअघि ती जहाज तत्काल खाली गर्न चेतावनी दिएको छ ।



