
काठमाडौँ । भोटेकोसी नदीमा यही भदौ १० गते आएको बाढीका कारण नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को नारायणी नदीमा भेटिएका शवमध्ये १५९ वटा शव व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार जिल्लामा भेटिएका २१६ शवमध्ये हालसम्म १५९ वटा शवको व्यवस्थापन गरिएको हो ।
जिल्लाका विभिन्न अस्पतालमा राखी पहिचान हुन नसेकेका शवहरूको स्थानीय वनमा व्यवस्थापन गरिएको पण्डितले जानकारी दिए । पहिचान नभएका शवहरू कावासोती नगरपालिकाको ज्योतिकुञ्ज सामुदायिक वन र देवचुली नगरपालिकाको दिव्य मध्यवर्ती सामुदायिक वनमा जमिनमुनि गाडेर अस्थायी व्यवस्थापन गरिएको उनको भनाइ छ ।
जमिनमुनि व्यवस्थापन गरिएका शवमध्ये महिलाका २९, पुरुषका ४७, बालक र बालिकको सात/सात वटा तथा ६९ वटा मानव अंग रहेका उनले बताए ।
जिल्लामा हालसम्म महिलाको ४७, पुरुषको ७३, बालकको ११ तथा बालिकाको १५ वटा शव फेला परेको छ । त्यस्तै ७० वटा मानव अंग फेला परेको सूचना अधिकारी पण्डितले जानकारी दिए ।
जिल्लामा भेटिएकामध्ये १७ वटा शव पहिचान भएर आफन्तलाई प्रदान गरिएको छ । पहिचान खुलेका शवको सबै प्रक्रिया पूरा गरी परिवारलाई हस्तान्तरण गरिएको उनको भनाइ छ ।
जिल्लामा भेटिएकामध्ये ४० वटा शवको व्यवस्थापन गर्न बाँकी रहेको पण्डितको भनाइ छ । उनका अनुसार, व्यवस्थापन हुन बाँकी रहेका शवमध्ये १४ महिला, १४ पुरुष, तीन बालक, आठ बालिकाको तथा एउटा मानव अंग रहेको छ
