
काठमाडौँ।रसुवाको भोटेकोशी नदीमा विनाशकारी बाढीको छैटौँ दिनसम्म आइपुग्दा मृत्यु हुनेको संख्या ९३९ पुगेको छ ।
रसुवासहित चितवन, धादिङ, तनहुँ, गोरखा, नुवाकोट र नवलपरासी पूर्वका विभिन्न स्थानमा लगातार शवहरू भेटिने क्रम जारी छ ।
अचानक आएको यस अप्रत्याशित बाढीको मुख्य कारण पत्ता लगाउन जलवायु विज्ञ, हिमाल तथा हिमनदी विशेषज्ञहरूको टोली अध्ययनमा जुटेको छ । विपत्तिमा परी अझै तीन हजार ९२५ जना नागरिक सम्पर्कविहीन रहेका छन् भने उनीहरूको खोजी तथा उद्धारका लागि २१ हजार आठजना सुरक्षाकर्मी परिचालन गरिएको छ ।
बाढी प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ३७९ जना नागरिकको सकुशल उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये गम्भीर अवस्थाका २७९ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेकोमा १६८ जना उपचारपछि डिस्चार्ज भइसकेका छन् । उद्धारका लागि नेपाली सेनाका हेलिकप्टरहरू मुख्य गरी रसुवा, टिमुरे, त्रिशूली र धुन्चे क्षेत्रमा निरन्तर केन्द्रित भइरहेका छन् ।
रसुवा र नुवाकोट क्षेत्रमा सञ्चालित तथा निर्माणाधीन धेरै जलविद्युत् आयोजनाहरूमा ठूलो क्षति पुगेको छ ।
नेपाली सेनाले जलविद्युत् परियोजनाहरूबाट मात्रै हालसम्म २७९ जना श्रमिक तथा प्राविधिकहरूको सकुशल उद्धार गरिसकेको छ ।
माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाबाट २५४ जनाको उद्धार गरिएको छ भने यसको सुरुङभित्र खोजीका लागि नेपाली सेनासँगै कोरियन र चिनियाँ टोली खटिएका छन् ।



