
चर्चामा पुस्तक
छरिएका सामाग्री
राजेन्द्र सुवेदीको भूमिकाहरुको सङ्कलित कृति हो । नेपाली साहित्यका समालोचना,निबन्ध,काव्यकविता,उपन्यास जस्ता प्राय सबै विधामा आफुलाई सक्रिय बनाएका उनका झण्डै २० वटा समालोचनाका कृति प्रकाशित छन् । यस कृतिभित्र सम्पादकीय र भूमिकाहरु समावेश गरिएका छन् । दुई खण्डमा विभाजित कृतिभित्र सम्पादकीयहरु पाँच र भूमिका सहितका समीक्षा समालोचनाहरु बाह्रवटा समावेश गरिएको पाइन्छ । यसमा समालोचनाका सन्दर्भ,नेपाली कथाको विकासक्रम ,कथाका विभिन्न मोड,देवकोटाको समालोचना,नाटक,कविता,मात्र नभएर नेपाली भाषाको इतिहास,नारी समालोचनाको ग्रन्थ,नारी समालोचना प्रवृत्ति र विश्लेषण,नेपाली निबन्धमा वैचारिक चेतना र निबन्धकला जस्ता विषयहरुमाथि समालोचना गरिएका छन् ।
कृतिमा लेखिएका सम्पादकीयहरु स्रष्टापरक छन् । काव्यकेन्द्रीत छन् । आख्यानकेन्द्रीत नहुने कुरै भएन ।
छरिएका सामाग्रीलाई भुँडीपुराण प्रकाशनले प्रकाशित गरेको हो । यसको मूल्य रु.४९०। राखिएको छ ।
शिखण्डी
सुशील रिजालको उपन्यास महाभारतका संघर्षशील,प्रतीकात्मक पात्र शिखण्डीको जीवनीमा आधारित छ । पौराणिक कथा,मिथकलाई पुनव्र्याख्या गरिएको छ । महाभारतकालीन कथा भएपनि यसले पहिचान,अस्तित्व लगायतका सन्दर्भहरुमा पाठकको मन झकझकाउँछ । यसमा वयस्क युवायुवतीको प्रेम प्रसङ्गलाई हेर्दा आधुनिक समाजबाहिर गएर बुझ्न बाध्य पार्छ । विभिन्न लिंग परिवर्तन लगायतका विषय र विधिहरु बैदिक कालमै विकसित भैसकेका थिए भन्ने तथ्यलाई पनि उपन्यासले उजागर गर्छ । यसमा विभिन्न प्रसङ्ग छन् । युद्धको विडम्बनाको कुरा छ । शिखण्डीको आन्तरिक छटपटी छ । युद्धको यथार्थ छ । विभिन्न पौराणिक सन्दर्भको छनक छ । यसले लैङ्गिक पहिचानको संवेदनशीलतालाई उठाएको छ । यसमा समाजले खडा गरेका परम्परागत मान्यताप्रति गम्भीर प्रश्न समेत उठाएको छ ।
प्रवाहमयी भाषाशैलीले पाठकलाई कथाको भावसँग जोगाइराख्ने क्षमता उपन्यासमा छ ।
शिखण्डीलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.५९५। रहेको छ ।
सिर्जनाको कोसेली
बाह्रजना बालकथाकारद्धारा लेखिएका सम्मान,मनकारी आमै,पहिलो दिन,खैरे बाँदर,खेलै खेल,नाच्ने अक्षरहरु,बालकको शुभेच्छा, हँसिकाको नाच,साझा फूलबारी,सानीको यात्रा ,आमाको माया,प्लाष्टिकको घर शिर्षकका बालकथाहरु यसभित्र रहेका छन् । छोटा,छरिता,सरल र सहज बालमैत्री भावमा आएका छन् । रङ्गीन चित्रहरु समावेश गरिएका छन् । बालबालिकाको मस्तिष्कमा ज्ञावद्र्धक कथाहरुले सहयोग पुग्ने कथाका विषयहरु छन् ।
ठूलालाई आदर गर्न,विद्यालय नियमित जान,अक्षरहरु लेख्न,आमाको मायाको जानकारी दिन कथाहरु सक्षम छन् । यसकृतिभित्रका कथाहरुले समाज, देश, माटो,प्रकृति, विज्ञान, भाषा, संस्कृति,शिष्टाचार र सदाचारका पाठहरु सिकाउँछन् ।
सिर्जनाको कोसेली बालकथासङ्ग्रहलाई भुँडीपुराण प्रकाशनले प्रकाशनमा ल्याएको छ । यसको मूल्य रु.३५०। रहेको छ ।




