
काठमाडौँ । रसुवास्थित भोटेकोसी नदीमा गत भदौ १० गते गएको विनाशकारी बाढीमा परी ज्यान गुमाएर काठमाडौं ल्याइएका २८१ जनाको शव सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार, काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ स्थित दक्षिणढोका वन क्षेत्रमा ती शव जमिनमुनि गाडेर सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो । उनका अनुसार, विपद् प्रभावित रसुवा, धादिङ र नुवाकोटबाट ती शव काठमाडौं ल्याइएको थियो । ती शवको त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टम तथा डीएनए परीक्षणका लागि नमुना संकलन गरेपछि सुरक्षित रूपमा व्यवस्थापन गरिएको हो ।
प्रहरीका अनुसार, प्रत्येक शवबाट डीएनए परीक्षणका लागि आवश्यक नमुना संकलन गरी शवलाई सुरक्षित रूपमा गाड्ने गरिएको छ । भविष्यमा पहिचान खुलेमा सम्बन्धित परिवारलाई शव हस्तान्तरण गर्न सकिने गरी आवश्यक विवरण र नमूना सुरक्षित राखिएको प्रहरी उपरीक्षक थापाले बताए ।
शव व्यवस्थापन गर्दा विशेष प्रकारको ‘एयरटाइट ब्याग’ प्रयोग गरी त्यसमा ट्याग नम्बर राख्ने गरिएको छ । ट्याग नम्बरका आधारमा शवको विवरण पहिचान गर्न सहज हुने गरी अभिलेखसमेत राखिएको छ ।
बाढीमा परी ठूलो जनधनको क्षति भएपछि विभिन्न स्थानबाट फेला परेका शवलाई पहिचान तथा डीएनए परीक्षणका लागि काठमाडौं ल्याइएको हो । पहिचान हुन बाँकी शवको डीएनए नमुना सुरक्षित राखी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।


