
सिन्धुपाल्चोक । चीनको न्यालमस्थित झिम्मु पोस्ट नजिकै ठूलो पहिरो खस्दा भोटेकोशी नदीको बहाव प्रभावित भएको छ ।
आज बिहान करिब ६: ३० बजे लिपिङको पारिपट्टि चीनतर्फको भिरबाट ढुंगामाटोसहितको पहिरो खसेपछि भोटेकोशीको बहाव प्रभावित भएको छ । पहिरोले चीनबाट नेपालतर्फ बग्ने भोटेकोशी नदीको बहाव करिब आधाजति रोकिएको बताइएको छ । नदीको बहाव जुनसुकै बेला बढ्न सक्ने र विपद्जन्य घटना हुनसक्ने जोखिम रहेकाले स्थानीय प्रशासनले तल्लो तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
विशेषगरी ड्यामसाइट, झोलुङ्गे, लामोसाँघु, खाडीचौर, अँधेरी, कोठे र बलेफी बजार क्षेत्रका बासिन्दालाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजान र आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ ।
पहिरोका कारण नदीको बहावमा थप परिवर्तन हुनसक्ने भएकाले भोटेकोशी नदी आसपासका क्षेत्रमा बसोबास गर्ने सबैलाई सतर्क रहन आग्रह गरिएको छ ।




