
काठमाडौं । चीनको तिब्बततर्फबाट बुधबार (भदौ १०) बिहान रसुवाको भोटेकोसी नदी हुँदै नेपाल प्रवेश गरेको भीषण बाढीले ठूलो जनधनको क्षति गरिसकेको छ ।
तर, जोखिम अझै कायम रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
उक्त बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको छ । त्यो ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको महाशाखाले जनाएको छ ।
“चीन सरकारबाट प्राप्त सूचनाअनुसार भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणानुसार, भाद्र १० मा बाढी सिर्जना भएको स्थानमा नदी थुनिएर ताल बनेको र उक्त ताल बढ्ने क्रममा रहेको र फुट्ने जोखिम समेत देखिएको,” महाशाखाले भनेको छ ।
“अर्को सूचना जारी नहुँदासम्म भोटेकोसी नदीको तल्लो तटीय क्षेत्रका बासिन्दा, यात्रु, उद्धार कार्यमा खटिनुहुने उद्धारकर्ता तथा सम्बन्धित सबैलाई विशेष सतर्कता अपनाई नदी किनार तथा जोखिमयुक्त क्षेत्रबाट सुरक्षित स्थानमा रहन अनुरोध गरिन्छ,” महाशाखाले भनेको छ ।
हाल भोटेकोसी र त्रिशूली नदीमा पानीको बहाव सतर्कता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपनाउनुपर्ने भन्दै महाशाखाले सचेत गराएको छ ।
