
काठमाडौँ । सरकारले २७ जना राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) र सो सरहका कर्मचारीहरूको सरुवा तथा पदस्थापन गरेको छ । २०८३ भदौ ३ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको विभिन्न मन्त्रालय, संवैधानिक आयोग, प्रदेश र स्थानीय तहमा कार्यरत सहसचिवहरूको जिम्मेवारी हेरफेर गर्ने निर्णय सोमबार सङ्घीय मामिला मन्त्रालयले सार्वजनिक गरेको हो ।
यस पटकको सरुवामा विशेष गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, विभिन्न सङ्घीय मन्त्रालयहरू र प्रदेशका मन्त्रालयहरूमा ठुलो फेरबदल गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत वेदप्रसाद भण्डारीलाई अर्थ मन्त्रालयमा र रामबहादुर कुरुम्बाङलाई कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयमा पठाइएको छ। गृह मन्त्रालयमा कार्यरत राजन पौडेललाई पोखरा महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ।
प्रदेशमा कार्यरत धेरै सचिवहरूलाई सङ्घीय मन्त्रालयमा तानिएको छ भने सङ्घका केही सहसचिवलाई प्रदेशमा खटाइएको छ।

