
काठमाडौँ । महभारतका पात्र शिखण्डीलाई मुख्य पात्र बनाएर सुशील रिजालले लेखेको उपन्यास ‘शिखण्डी’ एक कार्यक्रमबीच लोकार्पण गरिएको छ ।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा सुनिलबाबु पन्त, भुवनहरि सिग्देल, अनुपम रोशी, श्रीओम श्रेष्ठ ‘रोदन’, लेखककी आमालगायतले उपन्यास सार्वजनिक गरे ।
उपन्यासमाथि समीक्षा गर्दै आख्यानकार सिग्देलले किताब पौराणिक पात्रमाथि केन्द्रित भएर लेखिएको भए पनि यसमा धेरै नयाँ र रोचक प्रसंगहरू समावेश भएकोले उपन्यास पठनीय भएको बताए ।
आख्यानकार रोशीले महाभारत आफूलाई मनपर्ने पुस्तक भएको बताइन् । उनले शिखण्डी पात्र आफैँमा महत्त्वपूर्ण रहेकोले आफूलाई यस उपन्यासले आकर्षित गरेको उल्लेख गरिन् ।
साहित्यकार ‘रोदन’ले अब पुरानो विषयमा अध्ययन गर्ने र पढ्ने संख्या बढ्नुमा ‘शिखण्डी’जस्ता उपन्यासको विशेष योगदान हुने बताए ।
प्रमुख अतिथि पन्तले महाभारतको बेलादेखि नै तेस्रो लिंगीको अपमान र दुर्व्यवहार भएको बताए । यो उपन्यास आफूलाई मन परेको बताउँदै सबैसँग पढ्न अनुरोध पनि गरे ।
लेखक रिजालले आफू समाजशास्त्रको विद्यार्थी भएकोले सामाजिक विषयको अनुसन्धान गर्दैगर्दा शिखण्डीको विषयमा उपन्यास लेख्न उत्प्रेरित भई लेखेको बताए । कार्यक्रममा पुष्पराज पौडेल र रुपक अलंकारले पनि बोलेका थिए ।

