
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो वार्ता टोलीलाई इरानसँगको वार्ता रोक्न निर्देशन दिएका छन् ।
ट्रम्पले इरान सम्झौताका लागि तयार नभएसम्म वार्ता अघि नबढाउने निर्णय गरेको बताइएको छ ।
अमेरिकी अधिकारीका अनुसार अमेरिका र इरानबीच अहिलेसम्म सकारात्मक छलफल भएको थियो । तर, ट्रम्पले थप वार्ता सुरु गर्नुअघि केही समय पर्खिने निर्णय गरेका छन् ।
मध्यस्थकर्ताहरू अमेरिका–इरान वार्तालाई पुनर्जीवित गर्ने प्रयासमा जुटिरहेका छन् ।
कतारले मंगलबार दिएको जानकारीअनुसार, वासिङ्टन र तेहरानलाई पुनः वार्ताको टेबलमा ल्याउनुअघि मध्यस्थकर्ताहरू सम्भावित इरान–ओमान सम्झौताको प्रतीक्षा गरिरहेका बेला यस्तो निर्णय आएको हो ।
ट्रम्पले मंगलबार स्ट्रेट अफ होर्मुजलाई अमेरिकाको भूभागका रूपमा दाबी गर्दै सामाजिक सञ्जालमा एउटा नक्सा पोस्ट गरेका थिए । ट्रम्पको पोस्टपछि इरानका उपविदेशमन्त्री काजेम गरीबाबादीले होर्मुज स्ट्रेटलाई अमेरिकाको हिस्सा भन्नु भ्रम भएको बताएका छन् ।

