
काठमाडौँ ।आज साउन महिनाको अन्तिम सोमबार, पशुपतिनाथसहित देशभरका शिवालयहरुमा श्रद्धालुहरुको भिड लागेको छ ।
आज पानी परिरहेछ तर पर्वाह छैन् भक्तजनहरुमा ।
साउन महिना र सोमवार भगवान शिवको महिना एवं बार भएकाले प्रत्येक वर्ष यस समयमा भक्तजनको घुइँचो शिवालयमा हुने गर्छ ।
आज काठमाडौँ उपत्यकामा पशुपतिनाथसहित, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, आशापुरेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा,धनेश्वर,लड्केश्वर, बाँकेको बागेश्वरी,तनहुँको देवघाट, म्याग्दीको गलेश्वर लगायत शिवालयमा भक्तजनको बिहानदेखि घुइँचो लागेको छ ।
साउन महिनाको हरेक सोमबार ब्रत बसेर शिवको पूजा गर्दै आएका महिलाहरुले आज विधिपूर्वक व्रत समाप्त गर्दछन् । साउन महिनाका अरु सोमबार व्रत बसेर पूजापाठ गर्न नपाए पनि अन्तिम सोमबारको दिन व्रत बसेर पूजाआजा गर्दा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास गरिन्छ ।साउनको सोमबार भगवान शिवको प्रिय बार भएकाले यस दिन श्रद्धालुहरुले व्रत, पूजापाठ, दान लगायतका काम गर्दछन् ।
पशुपतिनाथमा बोलबम यात्रीका लागि जल चढाउन उत्तरतर्फको ढोकाको व्यवस्था गरिएको छ । भक्तजन बासुकी हुँदै उत्तरढोकाबाट जल चढाउने व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिए । साउनको सोमबार पशुपतिनाथको दर्शनका लागि आउने भक्तजनलाई सहज रूपमा दर्शनका व्यवस्था मिलाउन आज बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला गरिएको छ ।
आजको दिनमा महिलाहरूले विशेषगरी हरियो रंगका वस्त्र, चुरा र मेहंदी लगाएर भगवान शिवको पूजा तथा आराधना गरी व्रत बस्ने चलन रहँदै आएको छ । उक्त कार्य गर्नाले मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।विवाहित महिलाले श्रीमानको दीर्घायु तथा अविवाहित महिलाले सुयोग्य वर प्राप्तिको कामनाले साउनमा महादेवको व्रत बस्ने गर्दछन् ।
शिव पुराणका अनुसार यसै महिनामा शिव पृथ्वीमा अर्थात् ससुरा घरमा आएका थिए । त्यसैले यही मान्यताका आधारमा हरेक वर्ष साउन महिनामा शिव पृथ्वीमा आउने भनिएको छ । त्यसैले यस महिनामा शिवको विशेष पूजा गरिन्छ ।


