
चर्चामा पुस्तक
अक्षर मनका
कविता कर्ममा जमेका तीसका दशका कवि राजेन्द्र शलभको यो कविताकृतिभित्र मनका स्वच्छन्द भावहरु व्यक्तिएका छ दर्जन भन्दा बढी कविताहरु समावेश छन् । सौन्दर्यताको आरनमा खारिएका कविताहरु पाठकको मनलाई झँक्रित गराउने सामथ्र्य राख्छन् ।कविताहरु दार्शनिक चेतमा आएका छन् । भावनात्मक रुपमा मनसँग सम्बन्धित रहेका छन् । अनुभूतिका श्रृँखलाहरु छन् । जीवन दर्शन कविताको अर्को पाटो रहेको छ । मानवताका पक्षपाती कवि प्रकृतिप्रेमको सन्निकट भएर कविता रच्छन् । कलात्मक लेपले लपक्क टाँसिएका कविताले पाठकको मन छुन्छन् ।
नेपालका हरेक स्थान अनुदित भएर कविता कोरिएका छन् । सरल शब्दशैली,बिम्बात्मक रुपमा सुस्वादु पृथक पृथक विषयवस्तु कविताका विशेषता रहेका छन् ।
अक्षर मनका कविताकृतिलाई साङ्ग्रिला मिडिया ग्रुप प्रा.लि.ले प्रकाशनमा ल्याएको हो । यस कृतिको मूल्य रु.४००। रहेको छ ।
इन्द्रेणी सौन्दर्य
निबन्धमा अनवरत कलम चलाईरहेका निबन्धकार ज्ञानेन्द्र विवशको यो कृतिभित्र ५७ थान निबन्धहरु समावेश गरिएका छन् । जीवनका अनुभूतिलाई मज्जैले सम्प्रेषण गर्ने सामथ्र्य निबन्धहरुले राखेका छन् ।निबन्धमा संस्मरण मिसाउन सक्नु उनको बैशिष्ठ्य लाग्छ । निबन्धमा गहिरो अनुभूति राख्छन् निबन्धकार । भावनात्मक रुपले कोमल लाग्छन्,भाषागत रुपले सरल लाग्छन् निबन्ध । मानवीय संवेदनाले भरिपूर्ण निबन्धहरु मिठासयुक्त पनि छन् । उनकै भाषामा जीवनलाई संवेदनशील ढंगले हेरेका छन् आफ्ना निबन्धहरुमा । पाठकले आफ्ना भोगाइ र अनुभूतिहरु नै पाउँछ निबन्धहरुमा । कतिपय निबन्ध स्मृतिदंशमा आएका छन् ।
सरल र सुुलोलित भाषाशैली,पाठकसँग संवाद गर्ने सामथ्र्यका निबन्धको प्रबलता कृतिभित्र भेटिन्छ । निजत्व अनुभूति र आत्मपरकता सहति व्याकरणात्मक विचलनता पाइन्छ उनका निबन्धहरुमा ।
इन्द्रेणी सौन्दर्यलाई सुन्दर स्वदेश पब्लिकेशनले बजारमा ल्याएको हो । यसको मूल्य रु.५५० ।रहेको छ ।
यमल
कवि निर्मल श्रेष्ठको यो जोडी लघुकाव्य हो । कविले चालिसको दशकमा भेटिएका विविध परिवेशहरुलाई आफ्नो लघुकाव्यमा अक्षरमा कैद गरेका छन् । यसभित्रको ‘तोङ्वाका मगहरु- जिन्दगीहरु’ पहिले नै प्रकाशित भैसकेको थियो ।भने अर्को लघुकाव्य ‘खण्डित आकाश’ यसमा थप भएर नयाँ प्रकाशनको रुपमा आएको छ ।
विचारले उनी प्रगतिशील छन् । यसैले होला उनले तोङ्वाभित्र विचलित भएका केही युवतीहरुको विवश जिन्दगीको अस्तव्यस्ततालाई कृतिमा चित्र उतारेका छन् ।
जीवनका अनेकानेन आरोह अबरोहहरुलाई काव्यमा उतारेका छन् । अनेकानेन सपनाहरु सजाएर आकाशमा स्वच्छन्द उडान भर्न चाहाने युवतीको दुर्दशालाई ‘खण्डित आकाश’मा कैद गरिएको छ ।काव्यमा जीवनको चेतना र अस्तित्वलाई समेटिएको छ । प्रेम र यथार्थ समाजको चित्रण गरिएको छ । काव्य सामाजिक सन्देशका दृष्टिले महत्वको लाग्छ ।
सरल अभिव्यक्तिको भाषाले काव्य बाँधिएको छ ।
यमललाई मुमुक्षुले प्रकाशनमा ल्याएको हो । यसको मूल्य रु.२५० । रहेको छ ।
