
काठमाडौं ।उन्यासकार पदम काफ्लेको भुटानी नेपालीभाषीको कथाव्यथा समेटिएको उपन्यास ‘युग यात्रा’को लोकार्पण शनिबार काठमाडौंमा लोकार्पण भयो ।
सो लोकार्पण वरिष्ठ साहित्यकारहरु कृष्ण धराबासी, डा. शैलेन्दु नेपाल, राधेश्याम लेकाली, डा.कविता लामा, मीना पौडेल, शेखर खरेल, डा.तारालाल श्रेष्ठ, सञ्जय बान्तवा समाजशास्त्री मीना पौडेल, चित्रकार अस्मिना रञ्जित लगायतले गरे।
कार्यक्रममा साहित्यकार धराबासीले भुटानी नेपालीभाषीहरू जन्मभूमिबाट लखेटिएर पूर्वी नेपालमा आएदेखि आफूले उनीहरूको मुद्दा उठाएको स्मरण गर्दै ‘युग यात्रा’ ले त्यस कालखण्डलाई पठनीय रूपमा अभिलेखीकरण गरेको बताए ।
कार्यक्रममा शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीले कृतिका लागि पदम काफ्लेलाई बधाई दिँदै भाषा–साहित्यले नै कुनै पनि जातिलाई जीवन्त बनाउने धारणा राखे ।
साहित्यकार डा.शैलेन्दुप्रकाश नेपालले जसको आत्मकथा पनि आख्यानका रूपमा आउन सक्ने भन्दै विधालाई भन्दा सिर्जनालाई हेरिनुपर्ने धारणा राखे । ‘नत्र त आख्यान यथार्थवादी हुन्छ पनि भन्न पाइएन’ भन्दै ‘यस कृतिको भाषा प्रवाहमय छ, कथा मनमुटु छुने खालको छ । एकाध प्रसंग पढ्दा मेरा आँखा रसाए ।’ उनले भने।
यसैगरी उपप्राध्यापक डा. तारालाल श्रेष्ठले भुटानी नेपालीभाषीहरूको शरणार्थी जीवनदेखि तेस्रो देश पुनःस्थापनासम्मको दुःखसुखलाई ‘युग यात्रा’ ले समेटेको बताए ।
समाजशास्त्री मीना पौडेलले जुनजुन मुलुकमा पुनःस्थापना गराइए पनि भुटानी नेपालीभाषीहरूले आफ्नो पहिचान भुल्न नसकेको उल्लेख गर्दै ‘युग यात्रा’ ले त्यसलाई प्रतिविम्बित गरेको बताइन ।
पत्रकार शेखर खरेलले भने,‘जीवनमा केही कुरा यस्ता हुन्छन्, जसलाई सोझै भन्न सकिँदैन भन्दै ‘त्यसैले आख्यान चाहिने हो ।’
सत्र वर्षदेखि अस्ट्रेलियामा बसोबास गर्दै आएका कृतिकार काफ्लेले अग्रजहरूका प्रशंसा र आलोचनालाई आफूले शिक्षाका रूपमा लिने बताए।
साहित्यकार एवं सम्पादक पारशप्रकाश नेपालले सहजीकरण गरे ।
कृति ‘युग यात्रा’ खुम्बिला बुक्सले प्रकाशन गरेको हो ।


