
काठमाडौं। बर्ड कन्जरभेसन नेपाल (BCN) ले नयाँ वर्ष २०८३ को पुर्वसन्ध्यामा चराहरू सम्बन्धी क्यालेन्डर सार्वजनिक गरेको छ।
नयाँ वर्षको हार्दिक मङ्गलमय शुभकामना आदानप्रदान गर्दै संस्थाले आज उक्त क्यालेन्डर सार्वजनिक गरेको हो। क्यालेन्डरमार्फत नेपालमा पाइने विभिन्न प्रजातिका चराहरूको जानकारी तथा संरक्षण सन्देश प्रवाह गर्ने उद्देश्य रहेको बताइएको छ।
क्यालेन्डरमा हठन चौधरीको ‘पितहरित झाडिफिस्टो’, पूजा लामाको ‘निलटाउके खञ्जरी’, सङ्गेम रुम्बाको ‘लामपुच्छे्र बुङ्गेचरा’, उमंगजंग थापाको ‘भूमिचर निलकण्ठ’, प्रशन श्रेष्ठको ‘सानो खैरो गिद्ध’, विनय श्रेष्ठको ‘चाँदिकाने मिसिया’, विकास ठकुरीको ‘भुँदाले तोरीगाँडा’, निशान बरालको ‘सिबिया’, गंगाराज सुनुवारको ‘मण्डारिन हाँस’, प्रताप गुरुङको ‘लालटाउके गरुड’, सुदीप केसीको ‘खोया हाँस’ र आयुषमान कायस्थको ‘हिउँजुरे तोरीगाँडा’ चराका तस्बिरहरू क्रमशः वैशाखदेखि चैत महिनासम्मका पृष्ठमा छापिएका छन्।
सन् १९८२ मा स्थापना भएको यस संस्थाले देशभर चराहरू तथा तिनका बासस्थान संरक्षणमा चेतनामुलक कार्यक्रम गर्दै आईरहेको छ।
कार्यक्रममा चराहरू सम्बन्धी क्यालेन्डर प्रकाशनका बारेमा र रहेका सन्देशले चेतना अभिवृद्धि गर्नमा महत्वपूर्ण भूमिका खेल्ने चराविद सुदर्शन कार्कीले बताउनु भयो। नेपालमा छ वटा ऋतुमा पाइने चराहरूलाई समेटिएको र ती चराहरूसँग सम्बन्धित आफ्नै पौराणिक कथा तथा सांस्कृतिक महत्वका बारेमा पनि चराविद कार्कीले बोल्नु भयो।
सोमबार चराप्रेमीहरूको उपश्थितिमा काठमाडौंको लाजिम्पाटस्थित ‘कोथिना मिठो छ’ क्याफेमा क्यालेन्डर सार्बजनिक गरियो। कार्यक्रममा संरक्षणविद् कार्की, बरिष्ठ फोटोग्राफर सुदीप के.सी., संघका महासचिव अशोक मल्ल र संघका अध्यक्ष विमलकुमार थापाले चराको महत्वका विषयमा चर्चा गरेका थिए।
चराहरूको फोटो खिचेर संरक्षण अभियानमा योगदान पुर्याउने फोटोग्राफरहरूलाई संस्थाका अध्यक्षले सम्मानपत्र वितरण गर्नु भयो।।जैविक विविधता संरक्षण र वातावरणीय सचेतना अभिवृद्धिमा संस्थाको उद्देस्य रहेको छ।




