
काठमाडौं । नेकपा(एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)आसन्न चुनाव भाँड्न उद्यत रहेको आरोप लगाएको छ ।
शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा निर्वाचन भाँड्न देशका विभिन्न जिल्लामा दलहरूको झन्डा र चुनाव चिह्न जलाउनेलगायत कार्य गरिएको आरोप लगाइयो ।
आमनिर्वाचन, २०८२ मा एमालेका प्रेस संयोजक रहेका मीनबहादुर शाहीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “चुनावी परिणाम आफ्नो पक्षमा नआउने देखेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चुनाव भाँड्न खोज्दै छ।”
निर्वाचन आचारसंहिताको गम्भीर उल्लंघन हुँदै आएको उनले उल्लेख गरेका छन् । “अमुक पार्टी र त्यसका नेतृत्वको तस्बिर, चिह्नअंकित टिसर्टहरू होली पर्वको मौका छोपी वितरण गरिनु त्यसका उदाहरणहरू हुन्,” विज्ञप्तिमा भनिएको छ ।

