
काठमाडौं।इरानमा सरकारविरुद्ध जारी विरोध प्रदर्शन शनिबार १३औँ दिनमा प्रवेश गरेको छ । जर्जर अर्थतन्त्र र बढ्दो महँगीबीच जनता सडकमा उत्रिएका छन् ।
खमेनी प्रशासनविरुद्ध चर्को नाराबाजी गरिरहेका छन् ।
यसैबीच, देशमा जारी सरकारविरोधी आन्दोलनलाई लिएर एउटा स्तब्ध पार्ने दाबी सार्वजनिक भएको छ । एक इरानी डाक्टरले राजधानी तेहरानमा मात्रै २१७ जनाको मृत्यु भएको बताएका छन् ।
विरोध प्रदर्शन अहिले देशका सबै ३१ वटै प्रान्तमा फैलिसकेको छ । टाइम म्यागजिनको एक रिपोर्टमा तेहरानका एक डाक्टरलाई उद्धृत गर्दै, नाम नछाप्ने सर्तमा राजधानीका मात्र ६ वटा अस्पतालहरूमा कम्तीमा २१७ प्रदर्शनकारीको मृत्यु दर्ता गरिएको भनिएको छ । तीमध्ये अधिकांशको मृत्यु गोली लागेर भएको छ ।
शमा इन्टरनेट र फोन सेवा लगभग पूर्णरूपमा बन्द गरिएको छ । इन्टरनेट स्वतन्त्रतामाथि निगरानी राख्ने संस्था ‘नेटब्लक्स’ले शासनद्वारा लागु गरिएको इन्टरनेट प्रतिबन्धको दस्ताबेजीकरण गरेको छ ।
संस्थाका अनुसार राष्ट्रव्यापी इन्टरनेट बन्द गरिएको अहिले २४ घण्टा भइसकेको छ । कनेक्टिभिटी सामान्यस्तरको मात्र एक प्रतिशतमा सीमित छ ।



