
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले पार्टीको ११औँ महाधिवेशनको अन्तिम दिनसम्म एमालेका कुनै ध्रुवीकरण नहुने बताएका छन् ।
बुधबार प्रेस चौतारी नेपालले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनको पूर्वसन्ध्यामा आयोजना गरेको सञ्चारकर्मीसँगको संवाद कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले भने, “हामी सहज ढंगले अगाडि बढ्न सक्ने ठाउँमा छौँ, एमालेभित्र जुन ध्रुवीकरण देखिएको छ के तपाईंहरूलाई लाग्छ यो मंसिर २९ गतेसम्म रहला रु मंसिर २९ अघि नै यो समाप्त हुन्छ, कुनै ध्रुवीकरण रहँदैन ।”
उनले एमाले अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा फेरि पार्टी अघि बढ्ने स्पष्ट पारे । “अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको वरिपरि गोलबद्ध भएर पार्टीलाई एकताबद्ध बनाएर लिएर जाऊँ भन्ने भन्दा नमान्नुपर्ने कुनै विषय देख्दिनँ, यो सम्भव नै छैन भन्ने मलाई लाग्दैन,” उनले भने, “प्रतिस्पर्धा हुन्छ, नतिजा आउँछ, त्यसलाई मानेर अघि बढ्नुपर्छ ।”
चुनाव गराउने मनस्थितिमा वर्तमान सरकार नरहेको उनको भनाइ छ । उनले भने, “राजनीतिक दललाई किनारामा राखेर, नेताहरूलाई अपमान गरेर, स्थानहद तोकेर, बहुदलीय व्यवस्थामा चुनाव हुन सक्दैन, भयपूर्ण वातावरणमा मतदाताले मत खसाल्न सक्दैनन्, यो सरकारले चुनाव गराउँछ भन्ने कुरामा हामी आश्वस्त छैनौँ ।”

