
यो कस्तो सम्झना?
रिमा केसी
सम्झिरहेछु
सम्झनुपर्ने तिम्रा प्रत्येक आँखीझ्यालहरुलाई
कहिबाट पनि तिमी उस्तै देखिदैनौ
जसरि देखिन्छ आकाश
एउटै आँखीझ्यालबाट पनि
बेग्लै बेग्लै
म छामिरहेछु
सम्झनाको हाँगामा उदाउने
तिम्रो अधरको कोमल सूर्य
नथाकेर भागी उड्ने
पुतलीहरु जस्तो निर्दोष चन्चलता
मधुर गुन्जदै म सम्म
आइपुगेका तिम्रा सुरिला आवाजहरु
म सम्झिरहेछु
हुस्सुले तगारो लगाएर बाटो
छेकेको त्यो साँझ
तिमीलाई सताउन आउने
बेइमान घुम्तिहरु
आफ्नो सम्झि दुनियाँ छोडेर
आएको तिम्रो मायालु अनुहार
म सम्झिरहेछु
तिमीले सुम्सुमाउँदै प्रेमको
बन्धनले समेटेका मेरा केशरासी
मनको भित्री तहसम्म
हल्लाउने मिठो छुवाई
तिम्रो मनमा फुलेको मेरो
नाकको फुलिको सुगन्ध
अनि,
मधुर आवाजमा सुनाएका
प्रेमिल कविताका हरफहरु
थकित थकित जस्तो
गन्तव्य बिर्से जस्तो
सल्लेरीका चेपमा
अलमलिएका कुहिरोहरु
समयलाई रोकेर बाँचेका
विप्लव क्षणहरु
मौनताको भित्तामा
चुपचाप गफिएका धर्साहरु
लप्सिको बुढो रुखमुनि
तन्नेरी कवितामा
मिठो अमिलो साटफेर गरेपछि
तिम्रो छातीको सिरानीमा सुस्ताएर
आफैलाई बिर्से जस्तो
बिर्सन्छु कि भनेर सम्झेको
कुनै कहानी जस्तो
तिम्रो केशमा अल्झिरहने
सम्झनाको छाया जस्तो
हो,सम्झनाको यो चाँदनी हिडाईमा
हामीले दुनियाँ बिर्सिएका थियौ
तिमीले मलाई सम्झेकी थियौ
मैले तिमीलाई सम्झेको थिए
तर हामी दुबैले आफैलाई
भुलेका थियौ
र यसर…
मेरो मरुभूमि दर्पणमा
म कतै सिन्चिएको थिईन
अचानक तिमी हुरी जसरी आयौ
भाच्यौ, बढार्यौ, लघार्यौ
र मनभरि सन्नाटा छोडेर गयौ
म त्यहि सुनसान मनको बिसौनीबाट
तिमीले छोडी गएको प्रेमको
मुना सुम्सुम्याइरहेछु
म तिमीलाई सम्झिरहेछु
लाग्छ अचेल
बन्जर भूमिमा अङ्कुरीत म
बिज हुँ
तिमीले जलाई गएको
प्रेमको दीप हुँ
भन ! यस्तो बेला म
तिमीलाई कसरी सम्झु !








