
काठमाडौं, असोज ३० — कवि, सामाजिक अभियन्ता तथा नेपाल प्रज्ञा–प्रतिष्ठानकी पूर्व सदस्य प्राज्ञ सुलोचना मानन्धरले (शुक्रबार, असोज ३१ गते) बुद्ध प्रकाश फाउन्डेशनको विशेष कार्यक्रममा आफ्नो जीवनका अनुभव र ध्यान अभ्यासमा लागेको प्रेरणाबारे गहिरो अन्तर्दृष्टि साझा गर्नेछिन्। ‘विद्रोही मनको शान्त यात्रा’ शीर्षकमा हुने यस सत्रमा मानन्धरले उनी आफ्नो सक्रिय प्राज्ञिक, सामाजिक र साहित्यिक जीवनबाट कसरी शान्तिको खोजीमा ध्यानको बाटोमा लागिन् भन्ने विषयमा केन्द्रित रहेर आफ्नो कुरा राख्नेछिन्। उनले लेखन, सामाजिक आन्दोलन र मानसिक शान्ति प्राप्त गर्ने ध्यान अभ्यासबीचको अन्योन्याश्रित सम्बन्धबारे आफ्नो दृष्टिकोण प्रस्तुत गर्ने छिन्।
उक्त कार्यक्रम बुद्ध प्रकाश फाउन्डेशनले आयोजना गर्ने नियमित श्रृंखला ‘मेरो ध्यान यात्रा’ को एक हिस्सा हो।
यो श्रृंखला हरेक महिनाको अन्तिम शुक्रबार साँझ ५:०० बजेदेखि ६:३० बजेसम्म स्वयम्भूस्थित बोधि हाउसमा सञ्चालन हुँदै आएको छ, जसमा विभिन्न क्षेत्रका व्यक्तिहरूले आफ्नो ध्यान अभ्यास र व्यक्तिगत जीवनका अनुभवहरू सार्वजनिक रूपमा साझा गर्छन्।
आयोजक बुद्ध प्रकाश फाउन्डेशनका अनुसार सुलोचना मानन्धरको जीवन आफैंमा एउटा ठूलो प्रेरणा हो। “उहाँको कविता र लेखनमा जुन संवेदनशीलता, शालीनता र मैत्रीको भाव छ, त्यो उहाँको ध्यान साधनासँग कसरी जोडिन्छ भन्ने कुरा सुन्न पाउनु सबै सहभागीका लागि विशेष हुनेछ,” फाउन्डेशनले बताएको छ। उहाँको जीवन अनुभवले धेरै मानिसलाई आन्तरिक शान्तिको बाटो पहिल्याउन उत्प्रेरणा दिने विश्वास फाउन्डेशनका कार्यकारी निर्देशक अरुण पौडेलले व्यक्त गरेका छन्।



