
काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोली मलेसियासँगको टी–२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत पहिलो खेलमा पराजित भएको छ ।
कुआलालम्पुरस्थित वायुमास ओभलमा भएको खेलमा नेपाललाई मलेसियाले ३ रनले हराएको हो । मलेसियाले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि पूजा महतोले सर्वाधिक ३० रन बनाइन् । सम्झना खड्काले १८, कविता जोशीले अविजित १३ तथा कप्तान इन्दु बर्माले १२ रन बनाइन् ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
मलेसियाका लागि कप्तान विनिफ्रेडले सर्वाधिक २७ रन बनाइन् । अइना हमिजाले २६ तथा मास एलिसाले २५ रन बनाइन् ।
नेपालकी सोमु विष्टले २ तथा रुबिना क्षेत्रीले १ विकेट लिए ।

