
बनेपा,काभ्रे। नेकपा एमालेका पोलिटव्यूरो सदस्य एवं पूर्वमन्त्री गोकुल बास्कोटाले एमालेले तीन पुस्ताकै प्रतिनिधित्व गर्ने बताएका छन् ।
शुक्रबार बनेपामा एमाले जिल्ला कमिटि काभ्रेले संविधान दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले बताएका हुन् ।
संविधान दिवसको अवसरमा एमाले चुनावको सामना गर्न तयार रहेको भन्दै निर्धारित मितिमै चुनाव गराउन सरकारसँग आग्रह गरे ।
‘यसले पाएको म्याण्डेट बमोजिम समयमा निर्वाचन गराओस् । हामी निर्वाचन सामना गर्न चाहन्छौं,’ बास्कोटाले भने- ‘खरानीको टीका लगाएर नयाँ इतिहास रच्न तम्तयार भएर बसेका छौ ।’
बास्कोटाले भने -‘परिवर्तनको नयाँ पुस्तालाई पनि हामी चिन्न सक्छौ उनीहरू सँगसँगै हातेमालो गर्न सक्छौं ।’
एमाले परिवर्तनको झण्डा बोकेर फेरि उठ्ने पनि उनले बताए ।

जननेता मदन भण्डारीलाई सम्झँदै उनले भने – ‘यसका केही नेताहरू आउँछन्, आउँदैनन् त्यो मलाई थाहा छैन । तर नेकपा एमाले आउँछ परिवर्तनको झण्डा बोकेर आउँछ, न्यायको झण्डा बोकेर आउँछ, समृद्धिको झण्डा र गुमेको आत्मविश्वासलाई फेरि सगरमाथाको चुलीमा पुर्याउनेगरी अगाडि आउँछ।’
उनले समय आउँने र जाने बताउँदै परिवर्तनको सपनालाई कमजोर नबनाउन आफ्ना कार्यकर्तालाई आग्रह गरे ।
उनले देशलाई अस्थिर राख्न चाहानेहरुप्रति खवरदारी गरे । बास्कोटाले संविधानलाई संशोधन गर्ने प्रयास नेकपा एमाले र काँग्रेसले अगाडि बढाएको भन्दै कुनैपनि तानाशाही एमालेलाई अस्विकार्य हुने चेतावनी दिए ।
कार्यक्रमलाई एमाले काभ्रे जिल्ला अध्यक्ष राजन भूर्तेलले समेत सम्बोधन गरेका थिए ।
जिल्ला सचिव राजकुमार सापकोटाले सञ्चालन गरेको उक्त कार्यक्रममा संविधान दिवसको अवसरमा द्धिप प्रज्वलन समेत गरिएको थियो ।
