काठमाडौं।नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा उत्पन्न कुनै पनि राजनीतिक जटिलताको समाधान संविधानमार्फतै खोजिनुपर्ने बताएका छन्।
बडा दशैं २०८२ को अवसरमा सोमबार शुभकामना सन्देश जारी गर्दै उनले सात दशक लामो नेपाली जनताको त्याग, तपस्या, बलिदान र आकांक्षाबाट बनेको संविधान मुलुकको सर्वोच्च कानून भएकाले यसैको माध्यमबाट मुलुकमा स्थिरता र प्रगति सुनिश्चित हुने विश्वास व्यक्त गरेका छन्।
उनले भाद्र २३ र २४ गते जेन–जि पुस्ताले आह्वान गरेको प्रदर्शनका क्रममा ज्यान गुमाउने युवाहरू र सुरक्षाकर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका छन्। उनले प्रदर्शनमा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्।
देउवाले दशैंलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको पर्वका रूपमा स्मरण गर्दै यसले समुदाय, संस्था, परिवार र व्यक्तिबीच एकता र सद्भाव बलियो बनाउँदै आएको बताए।
“संविधानमै सबै समस्याको समाधान छ। नेपालको विकास र समृद्धिसँगै एकता र शान्तिको मार्गमा सबैको योगदान अनिवार्य छ,” देउवाले भनेका छन्।

