विशेष सम्पादकीय
उन्नाईस जना देशका भविष्य पुस्ताका होनहारहरुको अनाहकमा ज्यान जानु कुनैपनि मानेमा सहि पुष्टि हुन सक्दैन् । यसले मुलुक तानाशाहीकरण तर्फ उन्मुख भएको भान पर्दैछ ।सरकार अधिनायकवाद तर्फ नजाउ ।
आन्दोलनमा उत्पन्न जस्तोसुकै परिस्थितिमा पनि राज्यपक्ष धैर्य भै अप्रिय अबस्था आउन नदिन अरु उपायहरु हुँदाहुँदै गोली चलाउन आदेश दिनु र चलाउनु कुनैपनि मानेमा सह्य कुरा होइन् ।
जेनजी पुस्ताको हिजोको आन्दोलनमा अपरिपक्व निर्णय गरी दमन गर्ने राज्य पक्षको नीति भत्र्सनायोग्य छ ।
थोरैपनि देशका युवाहरुको जीवनप्रति संंवेदनशील नहुने सरकार र तिनका नेतृत्व गर्ने केपी शर्मा ओली र शेरबहादुर देउवाको अब राजनीतिक औचित्य सकिएको छ । गृहमन्त्रीको राजीनामा समाधान होइन् । यो सरकारले मार्गप्रशस्त गर्नुपर्दछ ।
पहिले प्रधानमन्त्रीको सामाजिक सञ्जाललाई हेर्ने असहिष्णु स्वभाव जहिल्यै विवाद रहित देखिएन् ।सामाजिक सञ्जाललाई विस्तारै नियमन गर्दै जानुपर्नेमा हठास सर्वोच्चले दिएको आदेशलाई आधार मान्दै बन्द गर्ने निर्णयमा पुग्नुले अहिलेको पुस्ता जो सञ्जालमै पढ्छ । सञ्जालमै दुनियाँका बारेमा जानकारी राख्छ,त्यसलाई सह्य भएन् । फेरी राजनीति भित्रका बेथिति, विकृति, भ्रष्टाचार, अनियमितता र कुशासन अहिलेको जेनजी पुस्तालाई सह्य हुने कुरै थिएन् । यसैले सडकमा आएको यो पुस्तामाथिको दमनले केपी, शेरबहादुरको राजनीतिक भविष्य सकिएको प्रष्ट भएको छ ।
पद र प्रतिष्ठाको लागि जे पनि गर्न पछि नपर्ने नेपाली राजनीतिमा बाँचुन्जेल पद नछोड्ने प्रवृद्धि देखिएको छ । यो त नेकपा एमालेको अस्ति सम्पन्न विधान महाधिवेशनले उमेर हद हटाउने,फरक मत दर्ज गर्न नपाउने गरी गरिएको निर्णयबाट पनि प्रष्ट हुन्छ ।
लोकतान्त्रिक व्यवस्थामा आफ्ना कुरा निर्वाध र स्वतन्त्रतापूर्वक अभिव्यक्त गर्न पाउने लोकतन्त्रको सुन्दर मूल्य र मान्यतामाथिको क्रुर र पाशविक दमनले अब पुरानो पुस्ता राजनीतिबाट बर्हिगमन गराउने बाटो खोलिदिएको छ । विवेक गुमाएको यो बुढो पुस्तालाई अब नेपाली राजनीतिमा असफल र अयोग्य भएको पुष्टि गरिदिएको छ ।
वास्तबमै नेपालमा भएका शान्तिपूर्ण आन्दोलनहरुमा एकैदिन यति धेरै मारिएको कालो इतिहास हिजो राज्यपक्षले रेकर्ड राखेर पुरा गरेको छ । यो कुनै मानेमा राम्रो हुनसक्दैन् ।नेपाली राजनीतिमा जेनजी असंख्य सडकमा आएको यो पहिलो घट्ना हो । र लोकतान्त्रिक मूल्य र मान्यतामा चलेको मानिएको सरकारले दमन गरेको कालो इतिहास बोकेको दिन हो । यो दिनले अब ओली र देउवाको राजनीतिक भविष्यलाई समाप्त गरिदिएको छ ।
उनीहरुप्रति आम जनसमुदायमा वितिष्णा पैदा गरेको छ । जहिल्यै भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्ने भनाई गराईमा देखिएको छैन् । युवाहरु फ्रष्टेशन व्यापक रुपमा फैलिएको छ ।पुराना पुस्ताको अकर्मण्यता र क्षमताविहिनता विरुद्धको आक्रोश सडकमा समेत पोखिएको छ । उसको विवेकशुन्यभावको परिणाम उन्नाईस जना युवाहरु मारिए । सैयौं हताहत र घाइते बने । यो अवस्थामा रोम शहर जलिरहँदाका निरो जस्ता बनेका यिनीहरुको औचित्य समाप्त भएको छ । अब यी नेताहरुले आफ्ना युवापुस्तालाई नेतृत्व सुम्पिएर जो जे पदमा छन् त्यहाँबाट बर्हिगमन हुने उच्च नैतिकता देखाउन यो मूलुकको हितमा छ । देश र जनताको हित र भलाइमा छ । कृपया,दुःख व्यक्त गरेर मात्र उन्मुक्ति मिल्दैन्। कृपया स्थितिलाई बुझ्नुस,भड्किन नदिनुस ।
जेनजी मात्र हैन् । अब जनता जागिसेका छन् अन्यथा ठूला भनिएका काँग्रेस,एमाले माओवादी लगायतका दलहरुको राजनीतिक भविष्य अन्यौलमा पर्ने अवस्था आउने देखिएको छ ।यो चरम दुरावस्थाको जिम्मेवारी ठूला भनिएका राजनीतिक दल र तिनका नेताहरुले लिनैपर्छ । किनकी दशकौंदेखि आलोपालो तपाईँहरुको संस्कार हो राज्यको बागडोर सम्हाल्ने । चेतना भया ।
जेनजी पुस्तालाई पनि हाम्रो आग्रह छ संयमित हुनुस् । आवेग र उत्तेजना होइन् । सुझबुझपूर्ण बनेर लागौं । निरंकुशता कुनै मानेमा स्वीकार्य छैन् ।
हिजोको राज्यपक्षको दमनमा परी ज्यान गुमाउनेहरुप्रति हार्दिक श्रद्धाञ्जली तथा घाइतेहरुको शीघ्रस्वास्थ्य लाभको कामना ।





