
काठमाडौं।हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
कोशी प्रदेशको थोरै स्थानहरूमा भारीदेखि धेरै भारी साथै मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
बुधबार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेस र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ।
मधेस प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको विभागले जनाएको छ ।


