
काठमाडौं। सत्तारुढ दल नेकपा(एमाले)ले सचिवालयको बैठक बोलाएको छ ।
विधान महाधिवेशनका तयारीको लागि सचिवालय बैठक बोलाएको हो।
एमालेको ५३ औं सचिवालय बैठक बुधबार दिउँसो १ बजे पार्टी मुख्यालय च्यासलमा बोलाइएको हो।
बुधबार बस्ने बैठकमा विधान महाधिवेशनबारे छलफल हुने केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।
उनका अनुसार आज बस्ने बैठकमा विधान संशोधन प्रस्ताव, राजनीतिक, सांगठनिक प्रस्ताव तयार पार्नेबारे विस्तृत छलफल हुनेछ।
‘बैठकमा विधान संशोधन प्रस्ताव, राजनीति र सांगठनिक प्रस्ताव तयार पार्नेबारे छलफल हुनेछ। सचिवालय आफैले प्रस्ताव तयार पार्न सक्नेछ, समिति बनाउन पनि सक्नेछ,’ उनले भने।
सम्भवतः एमालेले विधान संशोधन प्रस्ताव तयार पार्न समिति बनाउनेछ।
गत माघ ८ गते बसेको सचिवालयको ४२ औं बैठकले दोस्रो विधान महाधिवेशन आगामी भदौ २० देखि २२ गतेसम्म ललितपुरको सनराइज हलमा गर्ने निर्णय गरेको थियो। विधानतः विधान महाधिवेशन हुनु एक महिनाअगाडि नै विधान संशोधन प्रस्ताव सुझावका लागि प्रदेश र जिल्ला कमिटीमा पठाइसक्नुपर्नेछ।
चितवनमा भएको दसौं महाधिवेशनका प्रतिनिधि नै यो विधान महाधिवेशनका प्रतिनिधि हुनेछन्।
एमालेभित्र ७० वर्षे उमेरहद राख्ने कि फुकुवा गर्ने भन्ने बहस बाक्लिएको छ। त्यस्तै कार्यकारी कमिटीमा लगातार दुई कार्यकालभन्दा बढी बस्न नमिल्ने प्रावधान राख्नुपर्ने पनि आवाज उठिरहेको छ। एमालेको नवौं महाधिवेशनमा यी दुवै प्रावधान राखिएको थियो।
एमाले नेताहरुले यहि वर्षभित्रै विधान महाधिवेशन बोलाउने गरी बैठकले निर्णय गर्ने बताएका छन् ।


