
तोरण (हलपी)
नेपाली कला एवं संस्कृतिको विविधता धर्म दर्शन र सिद्धान्तकै आधारमा समृद्ध एवं समुन्नत भएको कुरा निर्विवाद छ । यदि बौद्ध दर्शनको मन्त्रयान, वज्रयान र महायान सिद्धान्तले यहाँका कला र संस्कृतिलाई आफ्नो मौलिक परिकल्पनाका आधारमा मार्गदर्शन नगरेका भए यी विशाल चैत्यहरू, देव देवीहरू कुनै हालतमा उत्पत्ति हुने थिएन होला । हाम्रो नेपालको धार्मिक कलाको क्षेत्रमा मन्दिर भित्र जुन देवदेवी स्थापना गरेका छन् त्यही देवदेवीको मूर्ति वा ती देवदेवीका कुल तथा बाहन सूचक चिन्हहरू देवस्थलका तोरणमा अंकित गर्ने प्रचलन छ । ठीक यही नेपाली कलाका मौलिक विशेषतालाई स्वयम्भू स्तूपको हर्मिकाको चारै दिशामा राखिएका हलिपट्ट (हलंपौ) मा पनि लागु भएको मान्नु पर्छ । स्वयम्भू महाचैत्यको जुन दिशामा जुन ध्यानी बुद्धको मन्दिर छ; ठीक त्यही मन्दिरको माथिको हलंपौमा पनि सोही बुद्ध भगवान्लाई बीचमा राखी प्रधान बुद्धमानी अरू पंच बुद्धको सानो मूर्तिहरू पनि राखिएका हुन्छन् भने अरू साना चैत्यहरूमा तद् तद बुद्धहरूको कुल सूचक चिन्हहरू वज्र, पद्म, विश्ववज्र आदि हलंपौमा अंकित गरिन्छ । यी हलंपौ र तोरण कलाको संस्कृति बौद्ध दर्शनले नेपालको कलासंस्कृतिका क्षेत्रमा थपेको एउटा महत्त्वपूर्ण आयाम हो । यसको शुभ प्रतीकका रूपमा हामी नेपाली बौद्धहरूले पनि ठूलाठूला उत्सव विवाह, व्रतवन्ध, बुढाबुढीको जंको (पास्नी) आदिमा आफ्नो मूलढोका माथि तोरण जस्तै गरेर पंचबुद्धको चित्र चाचिं च्वयेगु भनी काठका फलेकमा लेखाई टांगिन्छ वा लिउन राखी वज्रलेपन गरी त्यसमाथि पंचबुद्ध लेखाउने पनि प्रचलन छ । अनि ढोकाको दायाँबायाँ क्रमश: शुभ मंगलका प्रतीक नेत्र युगल, हरियो मैना, पद्म, पुष्प र पूर्ण कलश आदि पनि लेखाइन्छ ।
यदि स्वयम्भू स्तूपको ती हलंपौले तोरणको प्रतिनिधित्व नगरेको भए बौद्धहरूले आफ्नो घरको ढोकामाथि पंच बुद्धयुक्त फलेक तोरणका रूपमाकदापि प्रयोग गर्दैन होला । क्लेशमुक्त पंचस्कन्धलाई नै पंचबुद्ध मान्ने हाम्रो वज्रयान सिद्धान्त र परम्परा अनुसार पनि पंचस्कन्धबाट बनेका हामी मानवका निवासस्थल घरघरमा पंचबुद्ध युक्त तोरण जस्तो फलेक वा सिमेन्ट एवं माटोको लिउनमाथि चुनपोति त्यस माथि पंचबुद्ध अंकित गरिनु सार्थक मात्र होइन सान्दर्भिक मान्न सकिन्छ । साथै नेत्र युगल मैना, पद्म लेखिनु पनि अत्यन्त शुभ र मंगलदायक सम्झिन्छ । वज्रयानको गुह्य दर्शनमा “तोरणम् परम रहस्यम्” भनिनुको तात्पर्य पनि यही हो भन्ने बुझ्नु आवश्यक छ । किनकी “तोरण ऽस्त्री बहिद्वारम्” भन्ने अमरकोशको अर्थले पनि तोरण शब्द र तोरण प्रयोग भएको जतिपनि ठाउँ छन् त्यहाँ त्यो ठाउँलाई घर बाहिरको द्वार र देवालय, देवस्थल बाहिरको फाटक ढोका भन्ने नै अर्थ व्यक्त गर्छ । अतः हलंपौलाई हामीले तोरणकै रूपमा लिनुपर्छ साथै स्वयम्भू स्तूपको चारै दिशामा नेत्र युगल अंकित हर्मिकालाई ढोकाको खापाका प्रतीकका रूपमा मान्नुपर्छ । हलपौ निर्माण गरिदिने चतुरमहाराजहरूले पनि द्वार बाहिरै बसेर यो विश्वलाई रक्षा गर्ने कुरा पनि स्मरणीय छ ।
आचार्य कुलदत्तले “ध्यान चतुष्टयविशुद्धया चत्वारि तोरणानि ” भनी चार ध्यानका प्रतीक चार तोरणलाई मानेको छ । वस्तुत बुद्ध धर्ममा ध्यानको महनीय भूमिकालाई अनुसरण गरेर नै हरेक मन्दिरमा तोरणको स्थान अग्रपंक्तिमा आएको बुझिन्छ । देव देवताको पूजा भाव गर्नु भन्दा अगाडि तोरणलाई नै हामी एकचित्त भई अभिवादन गर्दछौं । यही महनीय पक्षलाई अंगालि पछिका विद्वानहरूले तद् तद् मन्दिर भित्रको देव देवतालाई प्रतिविम्बित गर्न कुल सूचक, चिन्ह वा देव देवीको मूर्ति पनि तोरणमा राखियो होला । स्वयंभू पूराणका समयसम्म हलंपौ (तोरण) मा बुद्ध मूर्ति राख्ने वर्णन छैन । अत: यी चैत्यका अरू अंगहरू पछि वज्रमहायानको विकासका साथै प्रादुर्भाव भएको मान्नु उपयुक्त छ ।
स्वयम्भू चैत्यको चारै दिशाका हर्मिकाको पाटामा नेत्रयुगल लेखिनु र हाम्रा पुरातन संस्कृतिका द्वारहरूमा परिघ (आग्लो ) खोल्न प्रयोग हुने कुंजिका (खव:क्वे) भनिने घुमरेको ? यस्तो तत्व तथा हाल सुदृष्टि भन्दै आएको आग्लो खोल्ने प्वाल समेत हुनुबाट पनि नेत्रयुगल युक्त हर्मिका पाटालाई द्वारको कपाट (खापा) कै प्रतीक सम्झनु पर्ने देखिन्छ । स्वयम्भू चैत्यको पूर्व दक्षिण कोणमाअवस्थित छेपुयुक्त तोरणले सिंगारिएको नेत्रयुगल, खवक्वें ? र प्वाल समेत भएको तथा द्वार भन्ने बोध गराउने गोल किल्ला समेत ठोकिराखेको धर्मधातु तथा वज्रधात्वेश्वरीका नामले प्रसिद्ध प्रस्तर पाटाले पनि स्वयम्भू स्तूपको हर्मिकामा अंकित नेत्र युगल, खव क्वें ? सुदृष्टि भनी सम्झदै आएको प्वाल र हर्मिका माथि राखिएका तदतद तथागतलाई प्रधान देखाउने हलिपट्ट (हलंपौ) ले हर्मिकालाई त्रायसि देवलोकमा जाने मार्गको द्वारका रूपमा प्रस्तुत गर्दछ । कसैकसैले प्रश्न चिन्ह जस्तो ? उक्त तत्वलाई उर्णाकोषबाट निस्कने गभाष्टि रश्मि पनि भनेको सुनिन्छ । उर्णाकोषको रश्मि कदापि त्यसरी भित्रबाट घुम्रेर निस्कँदैन । फेरी लाइट सिष्टम, प्रकाशको नियमअनुसार सतह हेरी प्रकाश परावर्तन भए पनि प्रकाश एवं रश्मि कदापि कहिल्यै घुम्रेर फैलिदैन ।
नेत्रयुगल
एघारौं शताब्दीका पंडित कुलदत्तले पनि आफ्नो क्रियासंग्रह पंजिकाको पेज नम्बर ११९ मा विहार स्थापना गर्ने सम्बन्धमा यसरी उल्लेख गरेको पाइन्छ- “तत्र निष्पन्ने विहारादौ बहिरभ्यन्तरे च यथास्थाने । तथागता, बोधि सत्वा: विद्यादेव्यः क्रोधगणा: विद्याधराः । प्रतिद्वारं नेत्रयुगलं कलशयुगलान्यपिलिखनीया” उपर्युक्त पंक्ति अनुसार विहारको भित्र, बाहिर, अभ्यन्तरमा विभिन्न तथागतहरू, बोधिसत्वहरू, विद्यादेवीहरू, क्रोधगणहरू, विद्याधरहरू स्थापना गर्नुपर्छ, हरेकद्वारमा नेत्रयुगल र कलश युगल पनि लेख्नुपर्छ भन्ने कुरा व्यक्त हुन्छ ।५° तसर्थ पनि स्वयम्भू चैत्यको हर्मिकामा नेत्रयुगल लेखिनुबाट द्वारकै परिकल्पना गरेको अक्षरश प्रमाणित हुन आउँछ ।
यस्तै अर्को बौद्ध विद्वान्ले गुह्यसमाज तन्त्रको चतुर्थ पटलमा कायवाक् चित्तको मण्डल लेख्ने प्रसंगमा नेत्रयुगलको बारे यसरी उल्लेख गरेको पाइन्छ । “काय वाक्चित्त भावनै……. चतुरस्रं चतुष्कोणत्वात् । चतुद्वारंमिति….”
पूर्वकोणे लिखेन्नेत्रं मेघमध्य समप्रभम् ।
दक्षिणेन ततो वज्रं मामकीकुल सम्भवम् ॥१४॥
पश्चिमेन लिखेत्पद्मं सकन्दं विकचाननम् ।
उत्तरेणोत्पलं कुर्यान्नीलाभ्रमिव शोभनम् ॥१५॥ ५१
५०. पं. कुलदत्त आचार्य- क्रिया संग्रह पंजिका पृष्ठ ११९ रिप्रोड्युस वाइ शारदा रानी, न्यूडिल्ली
५१. पं. दिव्य वज्र अनुदित – श्री गुह्यसमाज तन्त्र पृष्ठ ९२, ९५ प्रकाशक लोटस रिसर्च सेन्टर, ललितपुर१२७
सौम्य, कमनीय मेघ वर्णको नीलो नेत्रयुगलले सम्पूर्ण विश्वमा मैत्री छरी मनोल्हादन गरिरहेको छ । द्वारैदेखि आगन्तुकलाई सौम्य भएर स्वागत गर भन्ने सन्देश पनि यी नेत्रयुगलले दिईरहेको आभास हुन्छ ।
द्वारमा आँखा लेख्ने, चैत्य एवं स्तूपमा नेत्रयुगल लेख्ने हाम्रा शास्त्रीय परम्पराका सन्दर्भमा चर्चा गर्दा बहुसंख्यक बौद्धहरूले नीला अर्धनिमिलित नेत्र युगल लेख्नुको उद्देश्य एवं अर्थ नबुझ्ने स्थितिमा पुगिसकेको देखिन्छ । हामी बौद्धले नै नेत्र युगलको अर्थ बुझ्न छोड्यौं भने ती चित्रकारहरूले कसरी बुझ्नु ? यही कारणले गर्दा हामी बौद्धहरूले बिबाह, बुढा जंको आदि उत्सवमा नेत्र लेख्दा नीलो रंगको हुनुपर्छ भन्ने ज्ञान नहुँदा हेर्दै डरलाग्दो रातो मूलद्वारमा रंगले लेखिएका नेत्रहरू पनि बौद्धहरूको मूल द्वारमा यदाकदा देखिन आएका महाबौद्धको चैत्य र ल.पु. महापालको कामुनक महाविहारको छन् । चैत्यमा पनि कालो नेत्र लेखिनुको पछि यात नजानेर यसरी कालो नेत्र लेख्ने परम्परा बसे होला या कुनै बेग्लै सिद्धान्त एवं दर्शन अपनाएर गरेका होला भनी माथि उल्लेख भईसकेको छ । चैत्य एवं द्वारमा अंकित गरिने नेत्र युगलका रंगका सम्बन्धमा ध्यान दिनु नितान्त आवश्यक छ, शास्त्र सम्मत भएरै लेख्न, लेखाउन पर्छ । यो अत्यन्त विचारणीय र अन्वेषणीय विषय हो ।
हामी सर्वसाधारण बौद्धहरूको घर र पवित्र चैत्य, स्तूपहरूमा मात्र होइन नेपालका देवदेवीको मन्दिर, राजप्रसाद आदिका मूल द्वारको खापामा पनि ठूल्ठूला नेत्रयुगल लेख्ने प्रचलन छ । तुलजा भवानी, विजेश्वरी, गुह्येश्वरी, कुमारी घर, हुनमानढोका, राजप्रासाद आदिमा पनि नेत्र लेखेको पाइन्छ । यस्तै शक्तिका पुजारी शाक्तहरूको देवगृह एवं बौद्धहरूको आगम, गुह्यकोठाको मूलद्वारमा पनि नेत्रयुगल, लेख्नुको सट्टा ढकीं भनिने निखर कालोरंगको कपडाको पर्दामा रातो, नीलो, सेतो रंगले हेर्दै डरलाग्दा ठूल्ठूला विस्फारित नेत्रयुगल लेखी पर्दा हाल्ने प्रचलन छ । अष्ट मातृकादेवीहरूका प्रतीकका रूपमा पनि यस्तै निखर कालो नेत्रयुगल पात्र आदि अंकित ढंकीहरूको प्रयोग भएको तथ्य संकटाको मन्दिरमा उपलब्ध छन् । शक्तिका प्रतीक भैरवका मन्दिरमा पनि ढोकामा नेत्रयुगल लेख्ने प्रचलन छ । यति मात्र होइन, पद्मनृत्येश्वर (नास: द्य) भनी मानिदै आएको देवतामा पनि सेतो कपडामा त्रिनेत्र लेखी टांग्ने प्रचलनछ । रक्त एवं श्वेत मच्छेन्द्रनाथको रथका चार पाङ्ग्रालाई भैरवको परिकल्पना गरी उक्त पाङ्ग्राहरूमा पनि शक्ति पीठमा जस्तै विस्फारित त्रिनेत्रलेख्ने हाम्रो प्राचीन प्रचलन छ ।
बौद्ध दर्शनमा नेत्रयुगलको प्रयोग एकदम अर्थपूर्ण एवं भावपूर्ण उद्देश्यले प्रयोग गरेको मान्नु उचित छ । बौद्ध दर्शनमा ठूल्ठूला उत्सवहरू विवाह, व्रतवन्ध, बुढाबुढी जंको, चैत्य प्रतिष्ठा, आदि विभिन्न पूजाआजा गरिंदा इना कलश (इनाप कलश), अक्षोभ्य, वैरोचन, अमोघसिद्धिका प्रतीक कलशहरू त्रिपंचाशि कलश, न्यास कलश यक्ष यक्षणि कलश आदिको आवश्यक हुन्छ । थी कलशमा आफूले आव्हान गरिनुपर्ने देवदेवताहरूको मूर्ति वा ती देवदेवीहरूका कुलसूचक चक्र, वज्र चिन्हहरू प्रतीकात्मक रूपमा लेख्ने प्रचलन छ । जस्तै इनाय कलशमा एकातिर गणेशको मूर्ति लेखिन्छ र अर्को पाटातिर नेत्र युगल र खवक्वें ? जस्तो यस्तो चिन्ह पनि लेख्ने प्रचलन पाइन्छ । न्यास कलश भनिने सम्पूर्ण देवदेवीहरूको आह्वान गरी स्थापना गरिने माटाका कलशमा अनिवार्यरूपले एकापत्ति नीलो वज्र लेखिन्छ भने अर्को पाटोमा नेत्र युगल र कुंजिका अनिवार्य रूपले लेखाइन्छ । यही न्यास कलशमा चैत्य स्थापना गर्दा वा चैत्य जीर्णोद्वार गर्दा एवं करुणामय मच्छिन्द्र नाथको बर्षेनी गरिने स्नान र दश कर्ममा समेत भगवान्को न्यास (essense) यही कलशमा आह्वन गरि समाविष्ट गरेर एक ठाउँमा राखेपछि मात्र करुणामय आर्यावलोकितेश्वरको मूर्तिमा महा स्नान (अभिषेक) गरिन्छ । महानस्नान पछि सो करुणामयको मूर्तिमा लंपूलि (रंग) लगाउने कार्य हुन्छ अनि दशकर्मको पूजा हुन्छ सो पूजामा पनि यसप्रकारका कलशहरू अनिवार्य आवश्यक हुन्छ ।
स्वयम्भू महाचैत्य जीर्णोद्धार गर्दा पनि यस्ता विविध प्रकारका नेत्र युगल, कुञ्जिका, वज्र, विश्ववज्र, गणेश, यक्ष यक्षिणी आदि लेखिएका माटाका कलशहरूको आवश्यक हुन्छ । यहाँ कुन-कुन देवदेवीहरूलाई क – कस्तो विशेषतायुक्त कलश भित्र आव्हान गरिन्छ, स्थापना गरिन्छ सो चर्चा भन्दा हरेक`यस्ता पूजाआजामा प्रयोग हुने माटाका कलशमा नेत्रयुगल र कुञ्जिका (खव:क्वे) अनिवार्य अंकित गरीराख्नुको अर्थ स्पष्ट पार्ने धेय रहेको छ । वस्तुत
नेत्र युगल र खवक्वे ? कुब्जिका अंकित गरिएकाले कलशभित्र अवस्थित देवदेवीकहाँ जाने ढोका र ढोकाको आग्लो खोल्ने साँचो १ को प्रत्याभूति हामीलाई दिइरहेको छ । अतः मन्दिर एवं चैत्यको हर्मिकामा लेखिएका, अंकित गरिएका नेत्र युगल र कुब्जिकाले पनि गजूरमा अंकित त्रयोदश भुवनका तह तहमा अवस्थित देवस्थल तथा गर्भ गृह भित्र सूत्रपातन, रत्न न्यास, पदस्थापना गर्दा प्रतिष्ठापित देवदेवीहरू तथा धर्मधातु एवं वज्रधातुका देवदेवीहरू कहाँ जाने द्वार एवं तद् तद् द्वारको परिघ आग्लो खोल्ने कुञ्जिका र तद्अनुरूप अंकित सानो प्वालले हर्मिकाको चारै दिशाका पाटालाई द्वारको संज्ञा दिन सकिन्छ । यति मात्र होइन, हलंपौ (तोरण) मा समेत तद् तद् मूर्ति एवं पद्म आदि संकेत चिन्हहरू प्रमुख गरी राखिनुबाट र हर्मिकामा नेत्रयूगल राखिनुबाट द्वारकै प्रत्याभूति दिने कुरा निर्विवाद छ । फेरि चतुर्दिशाका चारै बुद्धहरूलाई थ्यासफूहरू र स्वयम्भू महाचैत्यमा पनि पीवखा देव५४ (प्युवखादेव) अर्थात बाहिर ढोकामा बस्ने देवता भनी उल्लेख गरेको छ । यति मात्र होइन, तेवहालको शंकटा मन्दिर भित्र अष्टमातृका भनी पूजा गरिने यस्तै ढंकी (कालो कपडाको पर्दा) मा पनि आँखा, पात्र, विन्दू दिइरहेको दुई हात, पर्दाको बीच भागमा मुख जस्तो आकृति लेखेको पाइनुबाट नेत्र युगल लेख्ने प्रचलन एवं परम्परा अद्यापि हाम्रो देवस्थलका द्वार सूचक क्षेत्रहरूमा हराएको छैन भन्ने तथ्य बुझ्नु उचित छ ।
तर स्तूप एवं चैत्यमा लेखिने नेत्रको रंग गुह्यसमाजमा उल्लेख भए जस्तै नीलोमेघ वर्णको हुनु पर्छ भन्ने कुरामा बौद्धहरूको ध्यान जानु आवश्यक छ । यद्यपि देवीहरू, शक्तिपीठहरू, राजदरवारहरूको द्वारमा लेखिएका नेत्रहरू हेर्दैमा डरलाग्दो ठूल्ठूला र रातो, कालो, सेतो रंगले लेखिएका हुनु र गुह्य आगम घर मा राखिएका ढकींमा पनि यस्तै भयानक एवं डरलाग्दो आकारका ठूल्ठूला विस्फारित नेत्र (आँखा)हरू लेखिएको पाइनुबाट सायद यी गुह्य आगम र गोप्य स्थलहरूमा हमेसी कोही नपसून् भनेरै डरलाग्दो खालका नेत्रयुगल चित्रण गरेको “हुनसक्छ भन्ने विचार उठ्नु उचित मात्रै होइन, स्वाभाविक पनि देखिन्छ ।
गुह्यसमाज सूत्रग्रन्थ अनुसार लेखिएका नीलो रंगका अर्धनिमिलित यी स्वयम्भू स्तूपको नेत्रयुगल कोमल, सोम्य र मनोल्हादक छ । साँच्चै भनुं भने यी
५४. पं. हेमराज शाक्य- स्वयंभू महाचैत्य पृष्ठ २९१

नेत्रहरूले सम्पूर्ण जगत्लाई स्वागतम्, सुस्वागतम् भनी मैत्री छरिरहेको आभास हुन्छ । अतः आफ्नो घरको मूलद्वारमा नेत्रयुगल लेखी बौद्ध कला, संस्कृति एवं परम्परालाई जोगाउन चाहने नेपालीले मैत्री र स्नेह छरी स्वागत गर्ने खालको नीलो रंगको स्वयम्भू चैत्यको जस्तो अर्धनिमिलित मनोल्हादक नेत्र लेख्न, लेखाउन तिर ध्यान दिनुपर्ने देखिन्छ । अर्काको देखासिखि गरी विभिन्न आकृति कुंदेका ढोकाका खापा राख्ने प्रवृत्तिले गर्दा ढोकामा आँखा र ढोकाको तोरणस्वरूप पंचबुद्ध लेखेका फलेक राख्ने प्रचलनमा धेरै नै न्हास आएको पाइन्छ । हामीले मैत्रीका प्रतीक नेत्रयुगल एवं पंच बुद्ध मूलद्वारमा अंकित गर्ने दिव्य प्रचलनलाई कदापि छोड्नु हुँदैन । यही हाम्रो जीवन्त संस्कृति हो, स्वयम्भू स्तूप प्रतिको अगाढ श्रद्धा हो ।
तर आश्चर्यको कुरा काश्मिरमा भेटाइएको शाक्यमुनिको धातु चैत्य (चित्र नं. ३५) मा भने एकापट्टि गर्भगृहमा नेत्र कुँदेको छ भने अर्कोमा मेघ बादलको आकार कुँदैको देखिन्छ । यो अन्वेषणीय कुरो हो ।
यसरी विभिन्न ग्रन्थबाट चैत्य लक्षण विधिको विशेषताहरू तुलनात्मक अध्ययन गरी तद् तद् ग्रन्थका आधारमा के कस्ता आकारका चैत्यहरू बने र ती मध्ये हाल हाम्रो देशमा कहाँ कहाँ कुन-कुन अवस्थित छ शिघ्र अन्वेषण गर्नुपर्ने देखिन्छ ।
साँच्चै भनुं भने स्वयम्भू चैत्यको शैली एवं आकार प्रकारसँग मिल्ने चैत्य विशेष गरी नेपालको राजधानी काठमाडौंमै मात्र प्रचुर मात्रामा अवस्थित रहेको कुरा निर्विवाद छ । यसप्रकारका चैत्य नेपालको मौलिक धरोहरका रूपमा हामी नेपाली बौद्धहरूले गर्व गर्नु नैसर्गिक देखिन आउँछ । तर चैत्य निर्माण सम्बन्धी शास्त्रोक्त विधि विधान एवं लक्षण नबुझ्नाले र गुरुपरम्परा नहुँदा हामीहरू कुनै विदेशी पर्यटक तथा अरु धर्मावलम्बीले हाम्रा नेपाली दाजुभाइलाई स्वयम्भू चैत्यमा दुईवटा नेत्र किन राखिएको के को प्रतीक हो (?) घुम्रेको प्रश्न
चिन्ह जस्तो तत्त्व के हो ? नेत्रको बीचमा रहेको सुदृष्टि (तिलक, टिका) जस्तो तत्व के हो ? भनी सोधे भने हामी कि त अनुत्तर हुन्छौं कि त मनमा जे आयोत्यही उत्तर दिन्छौं ।
यसरी भगवान् बुद्धको वचनलाई अक्षरस पालना गरी बनाइएका स्तूपहरू पवित्र स्मारक मात्र कहलिएन, बुद्ध दर्शनमा वास्तुकलाको उद्गम विन्दु पनि बन्न पुगेको छ । अपार श्रद्धा र आस्थाका अनुपम केन्द्र यी स्तूपहरू सर्वप्रथम पवित्र स्मारकका रूपमा स्थापित भए पनि कालान्तरमा स्तूपको चारै दिशामा चार निमित्त – जाति, संवोधि, धर्म चक्रप्रवर्तन र परिनिर्वाण का दृश्यहरू समावेश गरिन थाले । अनि विस्तारै तह तह वेदी, वेदीमुख, गर्भगृह, आम्लशारक, वर्षाथालक आदि पनि समावेश गरियो । महायान र वज्रयान दर्शनको प्रसारप्रचारले गर्दा चैत्यलाई अझ कलात्मक रूपमा मात्र प्रस्तुत गरिएन वरु चैत्यका हरेक अङ्ग वेदी, गर्भगृह, यष्टि आदिका अर्थविशुद्धि र बुद्ध दर्शनको प्रतीकात्मक अवयवका रूपमा पनि प्रस्तुत गरिन थाले । अरू कुनै देशको चैत्यमा नपाइने त्रयोदश भुवन, हलंपौ, नेत्र आदिहरू हाम्रा नेपाली चैत्यका मौलिक विशेषता हुन् । जसको फलस्वरूप यी चैत्यहरू पवित्र स्मारकबाट धर्मचैत्यका रूपमा प्रतिस्थापित हुन पुगेको छ । यसरी समस्त बुद्धदर्शनहरू यही चैत्यमा प्रतिविम्वित गरी चैत्य पूजा मात्र गरे पनि भविष्यमा बुद्धत्व लाभ हुन्छ भनी महायान वज्रयान दर्शनले चैत्य प्रति अत्यन्त श्रद्धा जगाएको छ ।
वज्रयान दर्शनले विभिन्न बुद्धमूर्तिहरूको आविष्कार गरी चैत्यमा पंच बुद्ध पनि स्थापना गर्न थाले । तर यहाँनिर एउटा घटलाग्दो कुरा के छ भने तन्जुरमा वर्णित चैत्य निर्माण पद्धति र हाम्रा चैत्य निर्माण पद्धतिमा भिन्नता देखिन आएको छ । तंजुरको आधारमा (चित्र नं. ३६) सुगत दास तुलाधरले चैत्यमा पाइने तह तह वेदीहरूलाई पंचइन्द्रिय, चत्वार ऋद्धिपाद आदिका प्रतीक भनी वर्णन गरेको छ भने हर्मिका र गजुरलाई तथागतबलका रूपमा विवेचना गरेको छ ।५५ यद्यपि लामावादको सिद्धान्त महायान, वज्रयान दर्शन कै उपज हुन् तर पनि लामाहरूले चैत्य निर्माण गर्दा चैत्यको पूर्व दिशामा पंचबुद्धको
५५. सुगत दास तुलाधर – चैत्य र भावना पृ. १५

सट्टा यात खाली भद्रपीठ मात्र राख्छन् या उष्णीष विजयादेवीको मूर्ति राख्ने गरेको पाइन्छ । यो भिन्नता कसरी आए विचारणीय छ ।
समग्रमा भनूं भने महायानी ग्रन्थ नव सूत्र ग्रन्थ मध्येको सद्धर्मपुण्डरीक सूत्रले चैत्यप्रति जगाएको जनआस्था एवं श्रद्धा अद्वितीय मान्नुपर्छ । विश्वमा शान्ति स्थापना गर्ने कार्यमा यी नवसूत्र ग्रन्थले बुद्ध दर्शनमा गृहस्थहरूलाई प्रवृत्त गर्न महत्त्वपूर्ण भूमिका खेलेको छ । अद्यापि यी नव ग्रन्थहरू नेवार बुद्धिष्टहरूको घर घरमा पाठ गर्ने, गराउने चलन छ । तर ती नव ग्रन्थ राम्ररी बुझ्न र बुझाउन नसक्दा महत्वपूर्ण कुराहरू बुझ्न नसकी चैत्य प्रतिको श्रद्धा र आस्था पनि हराउँदै जान सक्छ । धर्मको मर्म नबुझ्नाले नै धेरै जसो प्राचीन लिच्छवी चैत्यहरू नष्ट हुँदै गइरहेको छ । समय मै मुसुं बहाल, टेबहाल, भगवान बहाल, आदि स्थानका चैत्यहरूलाई शीघ्र सुरक्षा गर्नु परेको छ। हाम्रा देशमा उपलब्ध विभिन्न प्रकारका चैत्यहरूको सुरक्षा गर्नुका साथसाथै महत्वपूर्ण महायानी एवं वज्रयानी ग्रन्थहरूको पनि सुरक्षा गरी प्रसार प्रचार गर्नु हामी शान्ति प्रेमी बौद्धहरूको दायित्व हो ।

