
काठमाडौं। अन्तर्राष्ट्रिय श्रमिक दिवस,मे १ को अवसरमा वर्तमान कविता समूहले ‘श्रम, श्रमिक विशेष कविता वाचन’ कार्यक्रम सम्पन्न गरेको छ।
काठमाडौंको मण्डिखाटारस्थित यूरेसिया स्कुलमा उक्त कविता वाचन सम्पन्न भएको हो ।
कार्यक्रममा वाचन गरिएका कविताहरू श्रमिकहरूको संघर्ष, अधिकार, जीवनशैली, श्रमको सम्मान, न्याय तथा समानताको भावना झल्काउने विषयमा आधारित थिए।
कविताहरूले श्रमिकहरूको आवाजलाई बुलन्द गर्दै समाजलाई सचेत तुल्याउने प्रयास गरेका थिए। कार्यक्रममा प्रस्तुत कविताहरूले श्रमले नै सुन्दर संसार निर्माण गर्छ भन्ने तथ्यलाई कलात्मक ढंगमा अभिव्यक्त गरेका थिए।
कविता वाचन कार्यक्रममा सहभागी कविहरूमा केशव सिलवाल, अभय श्रेष्ठ,विश्व सिग्देल, चन्द्रबहादुर लामा, सञ्जय सुमन, रमी प्रिया, तीर्थराज भट्ट, दिलकुमारी डङ्गोल, नमराज घिमिरे, ईश्वर थोकर, धीरकुमार श्रेष्ठ, सुरेश गाउँले लगायतका स्रष्टाहरू थिए।
कार्यक्रमको उद्घोषण कवि धीरकुमार श्रेष्ठले गरेका थिए। त्यहाँ वाचित कविताले श्रमिक वर्गको कथा, पीडा र सम्भावनालाई साहित्यमा समेट्नु कत्तिको जरूरी छ भन्ने भएको बताए।
वर्तमान कविता समूहले यसअघि ‘हरित कविता’, ‘भुइँ मान्छेका कविता’, ‘छोटा कविता’, तथा ‘प्रेम कविता विशेष’ जस्ता काव्य गोष्ठीहरू आयोजना गरिसकेको छ। ती कार्यक्रमहरूमा वाचन गरिएका कविताहरूको अङ्ग्रेजी अनुवाद गरी अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने काम समूहले गर्दै आएको छ, जसले नेपाली कविताको पहुँचलाई अन्तर्राष्ट्रिय स्तरमा विस्तार गरिरहेको छ।
यस कार्यक्रमले कविता सिर्जनालाई सामाजिक चेतनासँग जोड्दै श्रमिक वर्गप्रतिको सम्मानलाई गहिरो बनाएको वर्तमान कविता समूहका अभियन्ताले बताएका थिए । कविता मार्फत श्रमप्रतिको सम्मान र न्यायको माग गर्दै प्रस्तुत कार्यक्रमले श्रमिक दिवसको सार्थकतामा गहिरो छाप छोडेको छ।




