
डा.श्यामसुन्दर राजवंशी
वि.सं २०६१ असार १२ गतेको शनिवारको कान्तिपुर दैनिकमा प्रकाशित “रथयात्राको सान्दर्भिकता” शीर्षकको लेख अहिले आएर फेसबुकमा कसैले पोष्ट गरिएको रहेछ । लेखका लेखकले के भन्न खोजेको रहेछ यसो पढेर हेर्दा हाँसो थाम्न सकिएन । लेखको अन्त तिर हास्यका पात्र कहिलेसम्म बनीरहने भनेर पनि प्रश्न गरिएको देखियो । लेखमा हाम्रो संस्कृतिमा भएको रथयात्रा, लिंगो ठडाउने जात्राहरुलाई लक्ष्य गरेर यस्ता जात्रा मनाएर हास्यको पात्र कहिलेसम्म बनीरहने भनी कटाक्षपूर्ण प्रश्न गरिएको पनि देखियो । वास्तवमा यस्तो असान्दर्भिक प्रश्नले मान्छेको सोच कति तुच्छ हुँदो रहेछ साथै उनै माथि प्रश्न सोझिएको भने कसरी चाल पाएन अचम्म छ । उनको ती हास्यास्पद सोच औंल्याउँदै पाठकलाई बोध गराउने उद्देश्यले यो लेख तयार गरिएको हो ।
त्यस लेखमा उठाइएका स्तरहीन तर्कहरु यसप्रकारका देखियो ।
१. वि.सं २०६१ सालमा असार ८ गते भोटो जात्रा परेको रहेछ । सातौं शताव्दीदेखि त्यो भोटोको वास्तविक हकदार खोज्दाखोज्दा पाउन सकेको होइन ।
२.त्यही वर्ष रथ ढलेको मात्र होइन, रथ नै भाँचिएको थियो यसले के के अनिष्ट हुने हो भन्दै अनेक टुनामुना पूजा गरियो र रथ बनाइ फेरि जात्रा चलाइयो तर रत्न जडित भोटो कसको पत्ता लाग्न सकेन ।
३.त्यही वर्ष गत चैत्र ३० गते भक्तपुरको बिस्केट जात्रामा पनि लिंगो ढलेर दुई टुक्रा भयो र मान्छे घाइते मात्र होइन मान्छे मरेको थियो ।
४. कामाक्षा(आसाम गौहाटी) मा ठूलो तान्त्रिक मीननाथ(मत्स्येन्द्रनाथ) छन् उनलाई नेपाल ल्याउन सके वर्षा हुन्छ र सहकाल पनि लाग्छ भनी नरेन्द्रदेव र बन्धुदत्त गइ मत्स्येन्द्रलाई ल्याएर ललितपुरमा राखे राजाको आज्ञाले हरेक वर्ष मत्स्येन्द्रनाथको रथयात्रा गर्न थालियो ।
५. वर्षाको सम्बन्धमा इन्द्र र कृष्णको ठूलो युद्धभयो , त्यस युद्धमा इन्द्र हा¥यो भन्ने कथा छ । त्यही भएर भारतमा इन्द्रको पूजा हुँदैन । नेपालमा इन्द्रजात्रा मनाउँछ भने वर्षाको देवता भनेर मत्स्येन्द्रनाथको रथयात्रा गर्न पनि छोडेनन् ।
६. यूरोप अमेरिकामा त्यस्तो रुढीबुढी छोडेकोले आज उनीहरु कहाँ पुगी सके । नेपालमा भने राजाहरुले लहडवश चलाएका अनगिन्ती पुराना संस्कृति छन् । यस्ता संस्कृति अहिले थामी नसक्नु बोझ भइसक्यो ।
७. विकसित राष्ट्रहरु चन्द्रमामा वस्ती बसाउने तरखरमा थाली सके यहाँ नेपालमा भने अझैपनि चन्द्र ग्रहण लाग्दा “छोड चमार” भनेर सराप्ने चलन छ ।
८. जतिबेला मछिन्द्रनाथको जात्रा चल्दा मनोरञ्जनका साधन त्यही थियो । अब युग परिवर्तन भइसक्यो परम्परामा सुधार गर्नुप¥यो अझै त्यसरी बोकेर बस्ने होइन ।
९. लिंगो ढलाएर मान्छे किच्दै रहनु हुन्न । वर्षा र सहकालको देवता भन्दै मत्स्येन्द्रनाथको रथ घुमाई रहनु हुन्न ।
१०.जिउँदो राजाको हुकुम चल्न छोडी सक्यो भने मरेका राजाको हुकुम मानेर भोटोजात्रा चलाई रहनु हुन्न ।
यस किसिमका स्तरहीन तर्कहरु त्यस लेखमा चर्चा गरिएका छन् । ती तर्कहरु प्राज्ञिक जगतमा छलफल योग्य बिल्कूल मानिंदैन । त्यसकारण ती कुराको बुंदागत खण्डनमा जानुको कुनै औचित्य छैन र केवल सोच के हो यसको बारेमा टिप्पणी गर्नु चाही जरुरी देखेर त्यतातिर ध्यानाकर्षण गर्न चाहन्छु ।
कतिपय मान्छेहरु आफ्नै घरमा पनि भ¥याङ र शौचालयमा लडेर मर्नेहरु कति छन् कति , के घरमा भ¥याङ शौचालय नै राख्नु भएन भन्ने हो ?कतिपय पोखरीहरुमा मान्छेहरु डुबेर मरेका छन् के पोखरीहरु एउटा पनि राख्नु हुन्न भन्ने हो ? धरहराबाट मान्छेले हामफालेर मरेका छन् धरहरा राख्नु हुँदैन, हनुमानढोका दरवारको नौतलेबाट हाम फालेर पनि मान्छे मरेका छन् । के नौतले दरवार पनि राख्नु भएन भत्काएर पठाउनु पर्ने हो ? यदि हो भन्यो भने त्यो सोच तुच्छ देखियो । सवारी साधन मोटर मोटरसाइकल प्लेन रेल जति पनि छन् ती साधन दूर्घटना नभएको संसारमा कहीं छैन । तैपनि ती सवारी साधन नचढ्ने कोही छैन भने जात्रा पनि बन्द गर्नु पर्ने तर्क पनि कुनै तार्किक होइन । त्यसकारण विसं २०६१ सालमा कान्तिपुरमा छापिएको लेखलाई कसैले महत्व ठानेर होस् वा नठानेर होस् फेस्बूकमा पोष्ट भइरहेको देखेर त्यसमा झस्किनु पर्ने कुनै जरुरी छैन ।
त्यसकारण चाहे त्यसमा विस्केट जात्राको कुरा गरोस् चाहे मत्स्येन्द्रनाथको रथजात्राको कुरा गरोस् चाहे इन्द्रजात्राको कुरा गरोस् शुरुमा ती जात्रामा कुनै विकृति विसंगति थिएन अहिले जत्ति मान्छेको भीडभाड पनि त्यतिबेला थिएन । अहिले विकृति विसंगतिहरु देखिनु सावधानी अपनाउँदा अपनाउँदै पनि सावधानी भन्दा बाहिर गएको अवस्थामा दूर्घटनाहरु हुन जाने गर्छ त्यो भनेर जात्राको दोष होइन । यो सबैलाई थाहा छ भन्नु पर्ने विषय पनि होइन । ती जात्रामा सावधानी अपनाउनु प¥यो र सावधानीको संभावित उपायहरु अझै थप के के हुनसक्छ ती उपायहरु पो बताउनु पर्ने हो । यस्ता जात्राहरु कुनै पनि चलाउनु हुँदैन भनी गरिएका तर्कहरु सबै वाहियात हुन् । नानीहरुले काखमा सुसु आची गरीदिए भन्दैमा ती नानीहरुको मूत्रद्वार गुद्द्वार बन्द गर्नु पर्ने सुझाव कसैले दिएर हिंद्दैन । माथि औंल्याइएका तर्कहरु पनि यी प्रशंङ्ग भन्दा भिन्न हो जस्तो लाग्दैन भन्न सकिन्छ ।
१.नेपालका जात्राहरु विश्वसम्पदा
नेपालका जात्राहरु अहिले नेपालको मात्र होइन विश्व कै सम्पदा सिद्ध भइसक्यो । यो कुरा थाहा नपाउने मान्छे कुन ध्रुवबाट आएको जन्तु हो भनेर नियाल्नु पर्ने हुन्छ । त्यसैले ती सबै जात्राहरु नेपालको साथसाथै यूरोप अमेरिकाको पनि जात्रा ठहरी सक्यो । उनीहरुको देशमा यति प्राचीन जात्राहरु नभएकोले त्यहाँका मानिसहरु नेपालमा आएर जात्रा हेर्न आउँछन् । उनीहरुको देश विकास हुनुमा त्यहाँको स्रोत साधन परिचालनमा राज्यले प्रथम प्राथमिकता दिइयो होला । नेपालको आर्थिक मेरुदण्ड पर्यटन उद्योग हो र पर्यटनको संभावना जात्रा संपदा पनि हो। राज्यले यसलाई प्रथम प्राथमिकता दिन नसकेको होला । राज्यको उच्च तहमा बस्नेहरुले नै सोच्न सकिरहेको छैन । हरेक देशले आआफनो देशमा भएको स्रोत परिचालन गर्ने हो अरु देशको दाहा गरेर हुँदैन ।अतः देशमा पर्यटनको संभावना बोकेको जात्रा सम्पदाहरुलाई रुढीबुढीको संज्ञा दिनु दुःखद सोच हो भन्न सकिन्छ ।
२.कथा र इतिहास एउटै डालोमा रहने होइन
कथाहरुमा वर्णन भएका कुराहरुको कुनै टिकाटिप्पणी गरिंदैन र गर्नु पनि बेकार हो । तर इतिहासमा वर्णित कुराहरुको अनेकौ टिकाटिप्पणी हुन्छ । कालक्रम अनुसार यो घटना मिल्यो मिलेन व्यापक छलफल हुन्छ । भनाइको तात्पर्य कथामा दिइएको घटनाको तुलना इतिहास संग हुँदैन । कामारु कामाक्षा गौहाटी जे भनिए पनि त्यो मछिन्द्रनाथको कथाको घटना हो, इतिहासको घटना होइन । त्यसकारण कथा र इतिहास एउटै डालोमा हाल्ने काम यो उ भन्ने छैन जो सुकैले गरे पनि त्यो काम गलत कुरा हो । लेखमा उल्लेखित तर्कहरु कथा र इतिहास एउटै डालोमा हालेर व्याख्या गरिएको छ र जसलाई यो कुरामा ज्ञान छैन उनीहरुले जात्रा बन्द गर्नु पर्ने तर्क समेत दिएको हुनु स्वयं हास्यास्पद कुरा हो । जात्राहरु चाहे विस्केट होस् मछिन्द्रनाथको रथजात्रा होस वा इन्द्रजात्रा जुनसकै होस् त्यसमा जोडिएका कथालाई कथा कै रुपमा राखेर केवल इतिहासको कुरामा विवाद रहित बनाएर जानु सबैको कर्तव्य हुन आउने हो ।
३.भोटो जात्राको मतलव हकदार माग गरेको होइन
प्रायः सवै देवीदेवताको महात्म्य सुन्ने सुनाउने हेतुले कथाको माध्यममा लेखिन्छ र लेखाइन्छ । त्यस्तै गरी मत्स्येन्द्रनाथको उत्पत्ति पनि कथाको माध्यमबाट लेखाइयो । नेपालमा करुणामयलाई कहिले देखि मत्स्येन्द्रनाथ कहलिन गयो ? यसको जात्रा कहिले देखि भयो कहिलेदेखि भोटो देखाउने जात्रा शुरु भयो भन्ने कुरा इतिहासको दृष्टिले लेख्ने लेखाउने हुनु पर्ने तर यसलाई पनि कथाको माध्यमबाट लेखाइएको हुनाले इतिहास के हो र कथा के हो भेद छुट्याउन नसकिएको नै एउटा समस्या हो ।
इतिहासको दृष्टिले हेर्नेहरुले सातौं शताव्दीमा नरेन्द्रदेव प्रथमको पालामा करुणामय बुंगमलोकेश्वरको जात्रा शुरु भयो र दशौ शताव्दीमा गुणकामदेवको पालामा भोटो देखाउने जात्रा थप गरिएको भन्ने इतिहासको भाषाबाट बुझ्न सकिन्छ । राजा नरेन्द्रदेवको पालामा चलेको संवत् छ तर त्यो संवतको उल्लेख कतै गरिएन । त्यस्तै गुणकामदेवको पालामा नेपालसंवत् नै देखियो तर यसको पनि उल्लेख कतै गरिएन । किनभने त्यतिबेला यसलाई ऐतिहासिक दस्तावेज तयार गर्ने चेतना आएको थिएन । हरेक कुरा कथा कहानी बनाई सुन्नेसुनाउने प्रचलन मात्र भएको कारणले यसो हुनगएको हो । यसरी भोटो देखाउने जात्राको रुपमा जुन झाँकी देखाइने गरिन्छ त्यसले भोटोको कथाको संस्मरण गराउने मात्र हो । साँच्चै भोटोको हकदार को हो भनी आह्वान गरेको होइन । तर्क गर्नेहरुले सातौं शताव्दी देखि भोटोको हकदार खोजेको छ कहिल्यै भेटिएको होइन अब यसलाई बन्द गराउनु पर्छ भनी व्यंग्य हान्न खोज्नु उनीहरुको तुच्छ सोचको परिणाम मात्र बोलीरहेको भन्न सकिन्छ ।
४.रथ बनाउदा प्राविधिक त्रुटी हुने संभावना
आर्यावलोकितेश्वरको रथ कुमारीको रथ जस्तो नबनीकन कापोतल पर्वतको प्रतीकमा बन्ने गरेको सर्बविदित नै छ । यो रथ तान्त्रिक विधिले बनेको छ । यसलाई विधि पूर्वक बनाउनु पर्ने हुन्छ । कहिलेकाही विधिमा त्रुटि हुन गएमा बिघ्न बाधाहरु आउने संभावनाहरु हुनसक्छ । यसमा पाङ्ग्रा घःमा देखि यावत् रथका अंगहरु देवीदेवतालाई तान्त्रिक विधिले उपस्थित गराएर मात्र गरिन्छ । यो कुरा रथ बनाउने कालीगढहरुलाई राम्ररी थाहा हुन्छ । त्यसैले रथको उचाइ देखि लिएर सबै कुरा शास्त्र सम्मत गरी तयार गरिन्छ । यो कुनै राजा को लहडमा बनेको र बनाइने होइन । तर्क गर्नेहरुले जे मन लाग्यो त्यही किसिमले खिस्सी गर्नाले उनीहरुको बुद्धिको परीक्षण हुने मात्र हो भन्न सकिन्छ । कापोतल पर्वत भनेको कामारु कामाक्षा होइन ।
५.जात्राहरु मनोरञ्जनको साधन होइन
करणामयको जात्रा केवल मनोरञ्जनको लागि गरिएको जात्रा होइन । सम्पूर्ण चराचर जगतका सवै प्राणीलाई अन्न दिई पालन पोषण गर्न भनी धरती लोकमा आविर्भाव भएको देवता करुणामय हुन् । सबै जनाले देशमा सदासर्वदा सहकाल भइरहोस् अनिकालको अवस्था कहिल्यै नआओस् भनी कामना गरी पूजागर्ने देवता हो । यो देवताले सबैलाई मनोरञ्जन गराई आल्हादकारी बनाउनको निमित्त आविर्भाव भएको देवता होइन । कसैले तर्क गर्दा जे मन लाग्यो त्यही भनी दिनु एउटा कुरा हो भने सम्पूर्ण आस्तिक जगतले सहकाल कै देवता मानेका छन् । जात्रा चलाउनुको अर्थ पनि सारा चराचर जगतले दर्शन पूजन गर्न पाइने होस् भन्ने नै मुख्य हेतु हो । कुतर्क गर्नेहरु जे पायो त्यही भन्यो भनेर मन सानो पार्नु पर्ने आवश्यकता छैन ।
६.राजाको हुकुमको पालना गरेको होइन
संसारमा सवभन्दा लामो अवधिसम्म चल्ने जात्रा भनेको अहिलेसम्म पाटनको करुणामयको जात्रा नै देखिन्छ । यस जात्रा कालमा सम्पूर्ण कीट पतंगदेखि लिएर राजासम्म पनि सहभागी हुने कोठूला ?कोसानो? केही भेदभाव नहुने सबैलाई समान भावले हेरिने आर्यावलोकितेश्वर करुणामयको जात्रा राजाको हुकुम पालना संग जोडेर तुच्छ भावले तर्क गरेको देखिनु साँच्चै घटिया सोच भन्न सकिन्छ ।यति लामो अवधिको जात्रामा पनि एक पटक दर्शन गर्न नपाउँदा आस्तिक विचारधाराका मान्छे आफुले आफैलाई अभागी संझने गर्दछन् । करुणामय सबै आस्तिक होस्या नास्तिक सबै प्राणीको कल्याण गर्दै आएका देवता हुन् । यस्तो महत्वपूर्ण विश्व प्रशिद्ध जात्रा बन्द गर्नु पर्दछ भन्ने तत्वहरु यो देशमा छन् । जेहोस् सबैको चित्तमा सद्वुद्धि आओस् ।
निष्कर्ष
नेपाल प्राचीनकालदेखि हालसम्म पनि संस्कृतिको धनी देश हो । त्यही भएर नेपालकोलागि संस्कृतिको जगेर्ना गरी राख्नु प्रथम प्राथमिकतामा परेको राज्यको कर्तव्य हो । विश्वमा कतै नभएको नेपालमा मात्र भएको कुरा जे छ त्यही जगेर्ना गरी बचाइ राख्ने कुरा यहाँको साँस्कृतिक जात्रा पर्व नै भएपछि अरुविकल्प छैन । अरु विकसित राज्यले आणविक हतियार ले देशलाई सुसज्जित बनाउन सके भन्दैमा नेपाल अहिले त्यो औकातमा पुगेको छैन । त्यही भएर नेपालले चन्द्रलोकमा जाने कुरा गर्दैन । खगोल शास्त्र विज्ञानको दृष्टिले चन्द्रमा भनेको पृथ्वीको उपग्रह हो सवैलाई थाहा छ । चन्द्रग्रहण हुँदा पृथ्वीको छाया चन्द्रमामा पर्ने हो त्यो पनि थाहा छ तर साँस्कृतिक परम्परा अनुसार चन्द्र ग्रहण हुँदा राहुले समातेको भनेर मान्दछौं र ग्रहण छोडेपछि मुख धोएर अरु साविक कार्य गर्दछौं । विकसित मुलुकको मान्छेले चन्द्रमामा टेक्न सक्ने भइसके भन्दैमा परम्परा अनुसार गर्दै आएको कृयाकलाप बन्द गर्नु पर्छ भन्ने छैन । त्यसकारण विज्ञान ले भन्ने कुरा आफनो ठाउँमा छ र हाम्रो साँस्कृतिक परम्पराले जेभन्छ त्यो पनि गर्दछौं । जनै लाउने मान्छेपनि छन् लाउन नपर्ने मान्छे पनि छन् । कसैले जनैलाएर केही फाइदा छैन हामीले लाउनै पर्दैन भन्यो भन्दैमा भोलिबाट जनै लाउन छोड्छ भनेर बाध्य पार्न कसैले सक्दैन ।
हरेक देवी देवताको महिमा लेख्दा आख्यान कथाको ढंगमा लेखाइ राख्ने गरिएको हुन्छ । त्यही आख्यानलाई इतिहास भन्नु हुँदैन । इतिहासको दृष्टिले हेर्ने पाटो अर्कै हुने गर्छ । धानबाटै चामल निस्कने हो भनेर धान र चामल एकै ठाउँमा मिसाइएको छ भने पनि भात पकाउनु प¥यो भने चामल चामल छुट्याएर मात्र पकाइन्छ भने झै कथामा ऐतिहासिकता मिसाइयो भने पनि ऐतिहासिकता मात्र छुट्याएर हेर्ने गरिन्छ । तर्क मात्र गर्न जानेको मान्छेले कथा पनि इतिहास भन्छ इतिहास पनि कथा जस्तै त होनि भन्छ भन्ने मात्र हो त्यो भन्दा बढी होइन ।
नेपालमा चलेका जतिपनि जात्रा संस्कृतिहरु छन् ती हिजो राजा हुँदाको बेलामा शुरु भएको अहिले राजतन्त्र छैन भन्दैमा ती जात्रा बन्द भएको छैन । राजा भएको पालामा शुरु भएको यावत् जात्रा अव त्यसको औचित्य सिद्धियो भन्नु बेकारको कुरा हो । कान्तिपुरमा २०६१ सालमा प्रकाशित लेखमा त्यस्तो खासै मनासिव देखिने तर्कहरु कुनै पनि छैन । कुनै नाम चलेको लेखकले नै लेखेको किन नहोउन् तर्क उनीहरुको हो विवेक हाम्रो भएकोले विवेकले तौलेर ठीक देखिएको मात्र लिन सकिन्छ बेठिक ठहरिएको जति छोड्नु नै बुद्धिमत्ता हुने हो । वास्तवमा विवेक सवै संग छ त्यही विवेक सही ढंगले प्रयोग गर्न सकियोस् । श्री करुणामयले सबैको कल्याण गरुन् ।








