
काठमाडौं।मुलपानी क्रिकेट मैदानमा नेपाल र अफगानिस्तान यू-१९ टिमबीचको तीन खेलको एकदिवसीय सिरिज अफगानिस्तानले अन्तिम एक खेल बाँकी हुँदै जितेको छ।
अन्तिम ओभरको रोमाञ्चक क्षणमा नेपाली खेलाडीले गल्ती गर्न पुग्दा नेपाल पराजित हुन बाध्य भयो।
आइतबार मुलपानी क्रिकेट मैदानमा भएको दोस्रो खेलमा अफगानिस्तानले नेपाललाई एक रनले स्तब्ध बनायो। अन्तिम ३ बल बाँकी हुँदा नेपाललाई जितका लागि २ रन आवश्यक थियो।
अन्तिम ओभरको तेस्रो बलमा नेपाली खेलाडी ध्रुव सोनार बोल्ड भएका थिए । तर उक्त बललाई अम्पायरले नो बलको इसारा गरे पनि नेपाली खेलाडी सोनारले अम्पायरतिर हेर्दै नहेरी क्रिज छाड्न पुग्दा अफगानी खेलाडी खालित अहमदजाइले रनआउट गरे।
जसका कारण नेपाल जितनजिक पुगेर पराजित भयो। जितसँगै अफगानिस्तानको युवा टिमले सिरिज २-० ले जितेको हो।


