
काठमाडौं ।नेपाल बार एशोशियसनका अध्यक्ष पदका प्रत्यासी बरिष्ठ अधिवक्ता प्रा.डा.विजयप्रसाद मिश्रले सेवाग्राहीसँग न्यायाधीशको नाम बेचेर पैसा उठाउने काम नहुने बताएका छन् ।
साथै उनले न्यायाधीशलाई भ्रष्टाचारमा प्रेरित गर्न नहुने पनि बताए ।
आगामी चैत २३ गते कानुन व्यवसायीहरूको छाता संगठन, नेपाल बार एसोसिएसनको नयाँ नेतृत्व चयनका लागि आगामी शनिबार देशभर चुनाव हुँदैछ । एकातर्फ लोकतान्त्रिक–प्रगतिशील र अर्कोतर्फ व्यावसायिक समूहको नाम दिएर कानुन व्यवसायीहरू प्रतिस्पर्धामा उत्रिएका छन् ।
यसै सन्दर्भमा बृहत् लोकतान्त्रिक,प्रगतिशील,पेशागत,राष्ट्रवादी एवं समावेशी कानून व्यवसायीको समूहको तर्फबाट अध्यक्ष पदका प्रत्यासी वरिष्ठ अधिवक्ता प्रा.डा. विजयप्रसाद मिश्रले इखबर नेटसँग संक्षिप्तमा कुरा गर्दै भने-“न्यायाधीशहरुको नाम बेचेर पैसा कमाउने काम हामीबाट नहुने भन्दै आफुहरुको उम्मेदवारी स्वतन्त्र न्यायपालिकाको पक्षमा हो। पेशामा रहेका विकृति र विसंगतिहरु हटाउनुपर्छ भन्नेमा हाम्रो उम्मेदवारी हो । हामीले हाम्रा एजेण्डाहरुलाई घोषणापत्र मार्फत सार्वजनिक गरिसकेका छौं । उक्त घोषणापत्रका कुराहरु कार्यान्वयनमा हाम्रो इमान्दार पहल रहने छ । न्यायपालिकाको शुद्धीकरण, न्यायपालिकालाई भ्रष्टाचारमुक्त बनाउन अग्रसरता,संवैधानिक व्यवस्थाको सुधारका लागि अग्रसरता जस्ता विभिन्न विषयहरुमा प्राथमिकता विषय रही आएका छन् । हामीले हाम्रा एजेण्डाहरुलाई घोषणापत्र मार्फत सार्वजनिक गरिसकेका छौं । उक्त घोषणापत्रका कुराहरु कार्यान्वयनमा हाम्रो इमान्दार पहल रहने छ । ”
कानून व्यवसायीहरुको हकहितको लागि प्रतिवद्ध र बलियो बार बनाउन आफुहरु प्रतिबद्ध भएको उनले बताए । यसैगरी नबोदित कानून ब्यवसायीहरुको क्षमता विकास,बारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा सशक्त ढंगले लैजान आफुहरुको अग्रसरता रहने उनको भनाई थियो ।
अर्को समूह भन्दा के मानेमा फरक तपाईहरु भन्ने प्रश्नमा उनले भने -“हामीले राज्यको कुनै निकायमा संवैधानिक भूमिका लिएका छैनौ र त्यो आकांक्षा पनि पालेका छैनौं । धेरै जसो हाम्रो टीमका साथीहरु बारको जगैदेखि काम गरेर नै आउनु भएको छ । र अर्को कुरा हाम्रो व्यवसायिक मर्यादामा कसैले औलो उठाउँन सकेको छैन् र सक्दैन पनि ।”
यसैगरी मिश्रले स्वच्छ,छिटो छरितो न्याय सम्पादनमा हाम्रो ध्यान जानेछ भन्दै कानून व्यवसायीहरु सेवाग्राहीका सेवकको रुपमा प्रस्तुत हुनुपर्छ भन्ने आफुहरुको मान्यता रही आएको बताए ।
“सत्ताको विकृति विसंगति विरुद्ध हिजो पनि हामी संघर्ष गर्दै आएका थियौं र त्यो आगामी दिनमा पनि जारी रहने” बताउँदै बरिष्ठ अधिवक्ता प्रा.डा.मिश्रले कानून र न्यायपालिका गाँसिने विषयमा स्वतन्त्र र निष्पक्ष रुपमा विवेक प्रयोग गरेर आफ्नो धारणा प्रयोग गर्न सक्षम भएको कुरामा जोड दिए ।





