
काठमाडौं । वासु शशी स्मृति परिषद्ले वासु शशीको जन्मजयन्तीको अबसरमा तीन स्रष्टाहरुलाई सम्मानित गरी पुरस्कार अर्पण गरेको छ।
यस अबसरमा ‘वासु शशी साहित्य सम्मान-२०८१’ द्वारा वरिष्ठ नाटककार मनबहादुर मुखिया सम्मानित भए ।
यसैगरी साहित्यकार विमल वैद्यलाई ‘वासु शशी साहित्य पुरस्कार-२०८१ तथा कवि सन्ध्या पहाडीलाई ‘कृष्ण-सरस्वती साहित्य पुरस्कार- २०८१’द्वारा सम्मानित गरियो ।
वरिष्ठ कवि तथा नाटककार स्व.वासु शशीको ८९ औं जन्मजयन्तीको अबसरमा आयोजित कार्यक्रममा उक्त सम्मान तथा पुरस्कारहरु कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ चलचित्रकर्मी तथा साहित्यकार यादव खरेलले अर्पण गरे ।कार्यक्रममा स्व.वासु शशी तथा परिषदका पूर्वअध्यक्ष वरिष्ठ कवि स्व.कृष्ण जोशीको तस्विरमा माल्यार्पण गरिएको थियो ।
कवि तथा चलचित्र निर्देशक प्रकाश सायमीले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुको वारेमा संक्षिप्तमा चर्चा गरेका थिए ।
पुरस्कृतहरू व्यक्तित्वहरु मुखिया, वैद्य र पहाडीले पनि आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि खरेलले वासु शशीलाई स्मरण गर्दै भने- ‘मेरो अत्यन्तै मिल्ने साथी बासुलाई क्यान्सरले अन्तिम अबस्थामा पुर्याएको बेला पनि भेट्न गएको थिएँ।’ खरेलले वासु शशीको अन्तिम अबस्थाको भावुक भएर स्मरण गरे ।
उनले वासु शशीलाई जोसँग पनि मिल्ने स्वभावको मान्छेको रुपमा चर्चा गरे । ‘वासुमा केटाकेटी,समकक्षी र बुढावुढीसबैसंग मिल्ने गुण थियो।’ उनले भने । उनले सम्मानित व्यक्तित्वहरुलाई बधाई पनि दिए ।

कार्यक्रममा कवि प्रकाश सायमीले सम्मानित तथा पुरस्कृत व्यक्तित्वहरुको वारेमा संक्षिप्तमा चर्चा गरेका थिए ।
पुरस्कृतहरू मुखिया, वैद्य र पहाडीले पनि आआफ्नो मन्तव्य व्यक्त गरेका थिए।
कृष्ण सरस्वती साहित्य पुरस्कारका संरक्षक सरस्वती जोशी,परिषद्का सल्लाहकार राधेश्याम लेकाली समेत अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रममा परिषद्का सदस्यसचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य राखेका थिए । परिषद्का उपाध्यक्ष हिरण्यकुमारी पाठकको सभापतित्वमा भएको उक्त कार्यक्रमको सञ्चालन परिषद्का सदस्य यादव भट्टराईले गरेका थिए ।




