
काठमाडौं । युवा स्रष्टा भुवन मास्के ‘मुस्कान’को संस्मरणसंग्रह “समय र अनुभूति” सार्वजनिक भएको छ ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त कृति बरिष्ठ कवि विष्णुविभु घिमिरे लगायतले सार्वजनिक गरे ।
वासु शशी स्मृति परिषद्को आयोजनामा भएको उक्त कृति सार्वजनिक कार्यक्रममा प्रमुख अतिथि घिमिरेले- ‘संस्मरण र यात्रा साहित्यमा इतिहास र संस्कृति पनि आउने भएकोले जानकारी लिन चाहानेहरुको निम्ति यस्ता कृति अत्यन्तै पठनीय हुने बताउँदै लेख्नु भनेको भाँगको नशा जस्तो हो। ‘ भने । कृतिकारको कृतिले गायक प्रेमध्वज प्रधान लगायत अन्य थुप्रै लुकेका इतिहासहरु उजागर गरेको बताए ।

कृतिमाथि समीक्षा गर्दै नेपाल स्रष्टा समाजका अध्यक्ष एवं बरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदनले -“पढ्दै जाँदा सजिलो भाषा,मीठो शैली,पढ्दा कुराकानी गरेको जस्तो लाग्ने देखियो । मेरो मन तानियो भन्दै उनले प्रेमध्वज प्रधानको विषयमा ४ वटा निबन्ध लेखिएको जानकारी दिए । उनले टुडिखेलको बारेमा समेत धेरै हामीलाई थाहा नभएको कुरा कृतिमा आएको छ । मालश्री धुनबारे जानकारी छ । कृतिले कुनै सन्दर्भ,दुख,घट्नालाई लिएर पाठकको मन रुवाउन सक्ने खुवी नै लेखकको सफलता हो । बास्तवमा कृतिले पाठकको मन निचोर्ने खुवी राख्छ ।” भन्ने धारणा व्यक्त गरे ।

नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीले शुभकामना मन्तव्य व्यक्त गर्दै आयोजक संस्थाले नयाँ कृतिकार जन्माएकोमा खुशी व्यक्त गरे ।
कृतिकार मास्केले पुस्तक निकाल्न प्रत्यक्ष र परोक्ष रुपमा संलग्न सबैप्रति कृतज्ञता व्यक्त गरिन् । साथै उनले पढेर आफ्नो कृतिबारे सुझाव र सल्लाह दिन अनुरोध पनि गरिन् ।
परिषदका सदस्य सचिव प्रद्युम्न जोशीले स्वागत मन्तव्य व्यक्त गरे । परिषदका उपाध्यक्ष कथाकार हिरण्यकुमारी पाठकको अध्यक्षतामा उक्त कार्यक्रम भएको थियो । मुरारी सिग्देलले कार्यक्रमको सञालन गरे ।
कार्यक्रममा आयोजकले स्रष्टालाई सम्मान पनि गरेका थिए ।

कार्यक्रममा हिजो राती निधन भएका बरिष्ठ उपन्यासकार लीलबहादुर क्षेत्रीको निधनमा दुख व्यक्त गदक्षेत्रीप्रति श्रद्धाञ्जली पनि व्यक्त गरिएको थियो ।






