
काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेको छ। हाल देशभर मनसुनी वायुको प्रभावसँगै भारतको मध्यप्रदेश र आसपास रहेको न्यूनचापिय प्रणालीको पनि प्रभाव देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
अहिले बिहान देशका बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशमा साधारणतया देखी पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रहेको महाशाखाले बताएको छ। बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूपरश्चिम प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बिहीबार दिउँसो सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ। सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हावाहुरीसहित भारी वर्षाको पनि सम्भावना रहेको छ।
राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली र बाँकी प्रदेशहरुमा आंशिकदेखि साधारणतया बदली रहने छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका धेरै तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन,चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका एक–दुई स्थानहरुमा हावाहुरी सहित भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारीदेखि अति भारी वर्षाको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।







