
काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कर्मचारीलाई प्रयोग नगरी नेताहरूले भ्रष्टाचार गर्न नसक्ने बताएका छन्।
शनिबार निजामती सेवा दिवसका अवसरमा सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कर्मचारी प्रयोग नभई नेताहरूले भ्रष्टाचार गर्न नसक्ने भएकाले कतै प्रयोग नहुन कर्मचारीहरूलाई निर्देशन पनि दिए।
‘तपाईँहरु कतै प्रयोग नहुनुस् । भ्रष्टाचार जस्तो दुष्कर्ममा सहभागी नहुनुस् । भ्रष्टाचार गर्ने नेताहरुको रेकर्ड राख्नुस्,’ प्रधानमन्त्री ओलीले भनेका छन् ।
सरकार ट्रेड युनियन अधिकारलाई सम्मान गर्नुपर्छ भन्नेमा आफू स्पष्ट रहेको उनले बताए । उनले अधिकार छ भन्दैमा दुई चार जना गएर तालाबन्दी गर्ने, सेवा प्रभावित पार्ने, अत्यावश्यक क्षेत्रमा हडताल गर्ने जस्ता काम उचित नहुने बताए।वर्तमान सरकार देशमा परिवर्तनको नायकत्व लिएका पार्टीहरुको समेत सरकार भएकाले यसले निजामती सेवा विधेयकलगायत महत्वपूर्ण विधेयकलाई छिटो पारितका लागि छलफल प्रक्रिया थाल्ने प्रधानमन्त्री ओल्ीले बताएका छन् ।
यसै कार्यक्रममा सरकारले ४० जनानिजामती कर्मचारीलाई पुरस्कृत गरेको छ। २१ औं निजामती सेवा दिवसको अवसरमा ४० कर्मचारी पुरस्कृत भएका हुन्।तीमध्ये १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिएको छ।
उत्कृष्टनिजामती सेवा पुरस्कार पाउनेहरूमा सार्वजनिक खरिद अनुगमन कार्यालय केशरमहलका सुपरिटेन्डेन्ट इन्जिनियर रामचन्द्र दंगाल, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कर्णाली प्रदेशका प्रदेश सचिव शंकर बहादुर केसी, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव राजुप्रसाद गुरागाइँ, कागेश्वरी मनहरा नगरपालिका काठमाडौंका प्रमुख प्रशासकीय अधिकृत सागर मिश्र, अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालका उपसचिव चुडाराज न्यौपाने छन्।
त्यस्तै गृहमन्त्रालयका उपसचिव कृष्ण सापकोटा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव चिरञ्जिवी नेपाल, नापी कार्यालय खाँदाबारी संखुवासभाका सर्वेक्षक आशा राई, कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालय सुनसरीका दरोगा बुनु राना र समशितोष्ण बागवानी विकास केन्द्र मार्फा मुस्ताङका कार्यालय सहयोगी निलबहादुर पुर्जामगर छन्।






