
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङले पदबाट राजीनामा दिएका छन् ।
बाग्मती प्रदेश सरकारका सन्दर्भमा पार्टीको विवादित निर्णयपछि उनले उपाध्यक्षबाट राजीनामा दिएका हुन् । पार्टी केन्द्रको संस्थागत निर्णय विपरीत बाग्मती प्रदेशमा राप्रपा सरकारमा सहभागी भएको छ । राप्रपाबाट तीनजना मन्त्रीसमेत बनेका छन् ।
बाग्मतीका सात जना सांसदले एमाले नेतृत्वको सरकारलाई विश्वासको मत समेत दिएका छन् । बागमतीका मुख्यमन्त्री किरण थापालाई विश्वासको मत हाल्ने राप्रपाका सात सांसदमध्ये एकजना बुद्धिमान तामाङका आफ्नै भाइ डम्मर तामाङ पनि छन् ।
राप्रपा उपाध्यक्ष तामाङले आफ्नै भाइले पार्टी निर्णयको उल्लंघन गरेकाले पदमा बसिरहन नैतिक संकट उत्पन्न भएको राजीनामा पत्रमा उल्लेख गरेका छन् ।

