
काठमाडौं ।नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले भोटेकोशी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लामा भएको क्षतिप्रति सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्रीलाई बालेन शाहलाई सम्बोधन गर्दै आङ्देम्बेले विपद्को यस कठिन घडीमा नागरिकको जीवन रक्षालाई सर्वोच्च प्राथमिकतामा राखी उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई तीव्रता दिन ९ बुँदे माग अघि सारेका हुन्।
नेपाली सेनाले गरिरहेको उद्धार कार्यको सराहना गर्दै उनले उद्धारलाई थप प्रभावकारी बनाउन रसुवा र नुवाकोटका लागि छुट्टाछुट्टै हेलिकप्टर उद्धार युनिट बनाएर परिचालन गर्न आग्रह गरेका छन्।
बाढीका कारण क्षति पुगेका १९ भन्दा बढी पुलमध्ये तत्काल कम्तीमा ७ स्थानमा बेलिब्रिज जडान गरी अवरूद्ध सडक सञ्जाल पुनःसञ्चालनमा ल्याउनुपर्ने उनको माग छ।
यसैगरी, बाढी प्रभावित क्षेत्रमा विद्युत् तथा टेलिफोन सेवा तत्काल सुचारू गर्न, बेपत्ताको खोजी र शव व्यवस्थापनलाई तीव्र पार्न तथा सुरक्षित स्थानमा ल्याइएका नागरिकलाई काठमाडौंसम्म पुर्याउने यातायातको व्यवस्था गर्न सरकारसँग आग्रह गरिएको छ।

