
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) बिहीबार (भदौ ११) बिहानै बाढी प्रभावित क्षेत्र नुवाकोटको विदुरतर्फ स्थलगत निरीक्षणका निम्ति प्रस्थान गरेका थिए । प्रधानमन्त्री बालेनसँगै पूर्वाधार विकासमन्त्री सुनिल लम्साल समेत सहभागी छन् ।
उनीहरू आज बिहान करिब ९ः३० बजे काठमाडौंबाट सडकमार्ग हुँदै बाढी प्रभावित मुख्य क्षेत्रमध्येको एक विदुरतर्फ प्रस्थान गरेका प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बुधबार (भदौ १०) बिहान रसुवाको भोटेकोसी नदी हुँदै आएको भीषण बाढीले जनधनको ठूलो क्षति भएको छ । रसुवा, नुवाकोटलगायत जिल्लामा क्षतिको विवरण सार्वजनिक भइरहेको छ ।
बाढीलगत्तै प्रधानमन्त्री बालेनले उच्चस्तरीय बैठकहरू आह्वान गरी उद्धार तथा राहतका निम्ति मातहतका निकायलाई आवश्यक निर्देशन दिनुका साथै निरन्तर सहजीकरण गर्दै आएका छन् ।
बाढीका कारण धेरै स्थानमा क्षति पुगेको भए पनि समयको सीमाका कारण प्रधानमन्त्री बालेनले आज मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीहरूको निरीक्षण गर्ने सचिवालयले जनाएको छ ।

