
काठमाडौंबाट धादिङ सदरमुकाम धादिङबेसी जोड्ने फुर्के खोलाको पुल बगाएको छ।
रसुवाको बाढीले भीषण रूप लिँदै त्रिशूली नदी हुँदै धादिङबाट चितवनतर्फ अघि बढेको छ।
केही बेरअघि फुर्के खोलाको पक्की पुल नै बगाएको धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले जानकारी दिइन्।
‘बाढी धादिङ कटेर चितवन पुगिसकेको छ। बाढी भयानक ठूलो छ। त्रिशूलीका झोलुंगे पुल र पक्की पुलहरू पनि बगाए। धादिङ सदरमुकाम जोड्ने मुख्य फुर्केखोलाको पुल पनि केही अघि बगाएको छ,’ उनले भनिन्।
क्षतिको अरू विवरण संकलन भइरहेको उनले बताइन्।
बैरेनीमा घरहरूमा पनि बाढी पसेको उनले बताइन्।’अहिले हाम्रो प्राथमिकता मानवीय क्षति नहोस् भन्ने हो। सोही अनुसार जिल्लाका तीन वटै सुरक्षा निकायबाट सुरक्षाकर्मी बिहानैदेखि खटिनुभएको छ,’ उनले भनिन्।
