
एमाले सचिवालयद्धारा वार्षिक कार्ययोजना पारित
काठमाडौं । नेकपा एमालेले वार्षिक कार्ययोजना पारित गरेको छ।
ललितपुर, च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा शुक्रबार बसेको सचिवालय बैठकले पोलिटब्युरो बैठकले दिएको सुझावका आधारमा कार्ययोजना पारित गरेको एमाले महासचिव शंकर पोखरेलले जानकारी दिए।
कार्ययोजनामा विभिन्न १८ वटा विषय समेटिएको छ। पार्टी सदस्यता नवीकरण र अभिलेखीकरण, नियमित अधिवेशन, बाँकी रहेका जिल्ला अधिवेशन कात्तिक मसान्तभित्र सम्पन्न गर्ने विषय कार्ययोजनामा समेटिएको छ। सबै तहको अधिवेशन मंसिर मसान्तभित्र सम्पन्न गरिसक्ने गरी योजना बनाइएको पोखरेलले जानकारी दिए ।
पार्टी प्रवेश गरेका र विभिन्न कमिटीबाट बिदा भएकालाई तीन महिनाभित्र जिम्मेवारी दिइने, कमिटी र कार्यकर्ताको कामको मूल्यांकनका लागि विधि बनाइएको, पार्टी एकता कसरी निर्माण गर्न सकिन्छ भन्ने कुरालाई आधार बनाएर कार्ययोजना बनाइएको पनि महासचिव पोखरेलले बताए।
पार्टी स्कुल अभियानको रूपमा सञ्चालन गर्ने र प्रत्येक वर्ष पार्टीका सदस्यले अनिवार्य रूपमा कुनै न कुनै तहको पार्टीको स्कुलमा सहभागि भई प्रशिक्षित हुनुपर्ने विषय कार्ययोजनामा उल्लेख छ। कार्ययोजनामा सरकारले गरेका कामलाई जनस्तरमा लैजाने र पार्टी कार्यालय व्यवस्थित रूपमा सञ्चालन गर्ने जोड दिइएको छ।
पार्टीले केन्द्रदेखि वडासम्म कार्यालयलाई व्यवस्थित गर्ने , कार्ययोजनामा हरेक कमिटीले आफ्नो बजेट तयार गर्नुपर्ने र वार्षिक बजेट बनाएर आम्दानी र खर्चको व्यवस्थापन गर्नुपर्ने रहेको महासचिव पोखरेलले बताए। पार्टीका नेता तथा कार्यकताको जीवनशैली,आर्थिक अनुशासन र चारित्रिक सुद्धता कायम हुनेगरी काम गर्नुपर्ने ,जनताले उक्त कुराबारे प्रश्न गर्ने ठाउँ नरहने गरी काम गर्न पनि भनिएको छ ।
महासचिव पोखरेलका अनुसार पार्टीले ४० बर्ष मुनीका युवाहरुको निम्ति युथ समिट कार्यक्रम लागू गर्नेछ ।
सत्तामा रहेका दलबीचको सहकार्यलाई अझ धनिष्ठ बनाउने हिसाबले संसद र सरकारलाई अझ प्रभावकारी काम गर्ने बताए।
पार्टीले भारत कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव सीताराम यचुरीको निधनप्रति दुःख व्यक्त गरेको छ। बैठकले यचुरीको अन्तिम संस्कारमा सामेल हुनका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल जाने निर्णय गरेको पनि महासचिव पोखरेलले जानकारी दिए ।



