
काठमाडौँ। सरकारले नेपाल आउने विदेशीकालागि अनलाइनमार्फत इ–भिसा लिने व्यवस्था मिलाउने भएको छ ।
तीन वर्ष लामो परीक्षण र गृहकार्यपछि अध्यागमन विभागले १५ भदौदेखि इ–भिसा लागू गर्न लागेको छ । इ–भिसा लागु भएपछि नेपाल आउने विदेशीले अध्यागमनमा लाइन बसेर भिसा लिनु पर्ने छैन ।
विभागका निमित्त महानिर्देशक टीकाराम ढकालका अनुसार इ–भिसा कार्यान्वयनका लागि प्राविधिकलगायत सबै तयारी पूरा भइसकेको छ । कानुन संशोधन गर्न गृह मन्त्रालयमा प्रस्ताव पुगिसकेको उनले जानकारी दिए ।
हालको अध्यागमन नियमावलीमा इ–भिसासम्बन्धी प्रस्ट प्रावधान नभएकाले मन्त्रिपरिषद्बाट नियमावली संशोधन गर्न लागिएको छ । इ–भिसाको प्रणाली सुरु भएपछि विदेशी नागरिकको पासपोर्टमा भिसा स्टिकर टाँस्नुनपर्ने विभागले जनाएको छ ।
नेपाल आउने पर्यटकले आफू भएकै स्थानबाट अनलाइनमार्फत भुक्तानी गरी स्वीकृत भएपछि भिसा प्रिन्ट गर्न सक्नेछन् ।
