
हेटौँडा । नेकपा एमाले बागमतीमा मुख्यमन्त्रीका लागि सहमति जुटेको छ।
मंगलबार हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेताबाट नहटाउने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने सहमति गरेको हो ।
पार्टी केन्द्रीय सचिव महेश बस्नेत र राजन भट्टराईसहितका नेताहरूको छलफलले बागमती प्रदेशको मुख्यमन्त्रीमा भक्तपुरका किरण थापा र बागमती प्रदेश दलको नेता जगन्नाथ थपलिया नै रहने गरी सहमति जुटाएको प्रदेश सांसद केशव पोखरेलले जानकारी दिए ।
यसअघि साउन २७ गते थपलियाविरुद्ध एमालेका १६ जना प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए । तर, पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेतामै कायम राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढाउने सहमति जुटाइएको हो ।
यो सहमतिसँगै प्रदेश संसदीय दलको बैठक बसेर थापालाई मुख्यमन्त्रीका रूपमा औपचारिक रूपमा अघि सार्ने निर्णय गरेको छ ।
