
काठमाडौँ । लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय बरियता ब्याडमिन्टन प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । शुक्रबार सम्पन्न खेलसँगै पुरुष र महिला एकलतर्फ समूह विजेता तथा उपविजेताको टुङ्गो लागेको हो ।
सहआयोजक यल स्पोर्ट्स एकेडेमीको कभर्डहलमा भएको पुरुषतर्फ समूह ‘ए’ बाट सशस्त्र प्रहरी बलका क्षितिज खनाल तीन खेलमा तीनै जित निकाल्दै समूह विजेता तथा नेपाल प्रहरीका प्रिन्स दाहाल दुई जितसहित उपविजेता बनेर सेमिफाइनलमा पुगे ।
आजको खेलमा क्षितिजले नेपाल प्रहरीका सुनिल जोशीलाई २१–९, २१–१२ तथा प्रिन्सले नेपाल प्रहरीकै जीवन आचार्यलाई २२–२०, २१–१६ ले पराजित गरे ।
समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन तीन खेलमा तीनै जित निकाल्दै समूह विजेता तथा नेपाल प्रहरीका विष्णु कटुवाल दुई जितसहित उपविजेता बनेर सेमिफाइनलमा पुगे । प्रफुलले आज विष्णुलाई १४–२१, २१–१२, २१–१७ ले पराजित गर्दै समूह विजेता बने ।
यस समूहको अर्को खेलमा सशस्त्र प्रहरी बलका देवराज रानाले नेपाल प्रहरीका दीपक बोहरालाई २१–१६, २२–२० ले पराजित गरे । अब फाइनल प्रवेशका लागि क्षितिजले विष्णु तथा प्रफुलले प्रिन्ससँग प्रतिस्पर्धा गर्नेछन् ।
महिलातर्फ समूह ‘ए’ बाट नेपाल नम्बर एक खेलाडी तथा त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन दुई खेलमा दुई जितसहित समूह विजेता तथा नेपाल प्रहरीकी शेस्ना श्रीपाली एक जितसहित उपविजेता बनेर सेमिफाइनलमा पुगे । रसिलाले आज आर्मीकै अनुमाया राईलाई २१–५, २१–७ ले पराजित गरिन् ।
समूह ‘बी’ बाट सशस्त्र प्रहरी बलकी रिहान सेरचन तीन खेलमा तीनै जितसहित समूह विजेता तथा नेपाल प्रहरीकी निता लम्साल दुई जितसहित उपविजेता बनिन्। समूह विजेता र उपविजेताको टुङ्गो लगाउने खेलमा रिहानाले नितालाई १३–२१, २१–१४, २१–१२ ले पराजित गरिन् ।
अब फाइनल प्रवेशका लागि रसिलाले नितासँग तथा रिहानले शेस्ना श्रीपालीसँग प्रतिस्पर्धा गर्नेछिन्। समूह ‘बी’ को अर्को खेलमा सिटिजन्स बैंककी नङ्गशल तामाङले त्रिभुवन आर्मी क्लबकी अमिता गिरीलाई २०–२२, २१–११, २१–१० ले पराजित गरिन् ।
नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भइरहेको प्रतियोगिताको पुरुष ११ वर्षमुनिको एकलतर्फ नेपाल प्रहरीका विराट बस्नेत, सुर्खेतका सुप्रेन शाही, त्रिभुवन आर्मी क्लबका कृमोन रिजाल, इमाडोल ब्याडमिन्टनका धननारायण श्रेष्ठ, नोबल इन्भाइरोमेन्टका डेनिस थापा, सुर्खेतका माहिर बाबु श्रीपाली, जेबीएका दीप तामाङ र कस्तुरी एकेडेमीका प्रज्ञान ढकाल अन्तिम आठमा पुगेका छन्।
महिला ११ वर्षमुनिको एकलतर्फ त्रिभुवन आर्मी क्लबकी युमिका राई, सिन्धुपाल्चोककी रिदिना श्रेष्ठ, इमाडोल ब्याडमिन्टनकी इर्याना मगर, ग्यालेक्सीकी योन्जना मगर, आर्मीकी अरक्षा डङ्गोल, जेबीएकी देनिशा प्रधान, ग्यालेक्सीकी अर्चना मगर र सशस्त्र प्रहरी बलकी रेन्शा श्रेष्ठले अन्तिम आठमा स्थान बनाएका छन् ।






