
काठमाडौँ। आज सूर्यग्रहण लाग्दैछ।
आज लाग्ने खण्डग्रास सूर्यग्रहण नेपालबाट भने नदेखिने पञ्चांग निर्णायक समितिले जनाएको छ। विश्वका केही भागमा भने सूर्यग्रहण लाग्ने खगोलविद्हरूले बताएका छन्।
आजको सूर्यग्रहण पृथ्वीका केही क्षेत्रमा पूर्णरूपमा र केही ठाउँमा आंशिक रुपमा मात्रै देखिने नासाले जनाएको छ।
खगोलीय नियमअनुसार चन्द्रमा पृथ्वी र सूर्यको बीचबाट पार हुँदा सूर्यको आंशिक वा पूर्ण प्रकाश पृथ्वीसम्म पुग्नबाट रोकिन्छ। जसको कारण सूर्यग्रहण लाग्छ। सूर्यग्रहण लाग्न चन्द्रमा, सूर्य र पृथ्वी एउटै सिधा रेखामा आउँनुपर्छ।
आजको सूर्यग्रहण उत्तरी रुस, ग्रिनल्यान्ड, आइसल्यान्ड, स्पेन र पोर्चुगलका केही भागहरूमा पूर्णग्रहणको रूपमा देखिनेछ। उत्तरी रुसको एउटा सानो र दुर्गम क्षेत्रमा दिउँसोको समयमा सूर्यग्रहण देखिने नासाले जनाएको छ।
त्यसपछि यो पृथ्वीमा पूर्व दिशातर्फ बढ्दै स्थानीय समयअनुसार सूर्यास्त हुनुभन्दा ठिक अघि साँझपख स्पेनमा देखिनेछ।
त्यसैगरी अमेरिकाको उत्तरी भाग, क्यानडा, उत्तर(पश्चिमी अफ्रिका र युरोपका धेरै क्षेत्रहरूमा आंशिक रूपमा सूर्यग्रहण देखिनेछ। केही ठाउँहरूमा सूर्यको ९० प्रतिशत वा सोभन्दा बढी भाग ढाकिएको देखिने वैज्ञानिकहरूले बताएका छन्।
अफ्रिका र युरोपका केही भागमा सूर्यास्तको समयमा सूर्यग्रहण देखिनेछ।
सूर्यग्रहणलाई खाली आँखाले हेर्न नहुने वैज्ञानिकहरुले बताएका छन्।
साधारण सनग्लास लगाएर पनि सूर्यग्रहण हेर्न मिल्दैन। यसो गर्दा आँखाको रेटिनामा स्थायी रूपमा क्षति पुग्न सक्ने जोखिम हुन्छ।
विशेष चस्मा लगाएर मात्र सूर्यग्रहण हेर्न सकिने वैज्ञानिकहरू बताउँछन्।
यसअघि २ असोज २०८२ मा पनि सूर्यग्रहण लागेको थियो। त्यतिबेलाको सूर्यग्रहण पनि नेपालबाट देखिएको थिएन।


